
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द हुँदैछन्।
सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।
संचार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
सरकारले नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जालहरुका लागि बिहीबारदेखि नै लागू हुनेगरि फेसबुक तथा युट्युबसहित २६ वटा सामाजिक सञ्जाल निष्कृय गर्ने भएको हो।
यसअघि, सरकारले एक साताको समय सूचीकरणको लागि आह्वान गरेको थियो।
संचार मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार भर्खरै यो निर्णय भएको छ।
स्रोतले बताएको छ, ‘अहिले भर्खरै निर्णय भएको हो। केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ।’
नेपालमा फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल सूचीकरण भएका छैनन्।
संचार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको निर्णयअनुसार दर्ता नभएका सामाजिक सञ्जाल निष्कृय राख्न नेपाल दूरसंचार प्राधिकरणलाई पत्र पठाइसकेको छ।
दर्ता हुन आएकै दिन फेसबुक तथा युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल सकृय गर्ने मन्त्रालयले बताएको छ।
‘जो सूचीकरण प्रक्रियामा आएका छन्, त्यसलाई खुला राख्ने र जो प्रक्रियामा आएको छैन त्यसलाई निष्क्रियमा राख्ने निर्णय भएको छ। पाँच वटा सूचीकरण भएका छन्। बाँकीलाई निष्कृय गर्ने र सूचीकरणको प्रक्रियामा आएपछि सकृय बनाइनेछ’, मन्त्रालयका प्रवक्ता एवं सह–सचिव गजेन्द्रकुमार ठाकुरको प्रतिक्रिया छ।
ठाकुरका अनुसार भाइबर, टिकटक, विटक, निम्बस र पोपोलाइभ सूचीकरण भएका छन्।
दर्ता भएका भाइबर, टिकटक, विटक, निम्बस र पोपोलाइभ भने बन्द हुने छैनन्।
टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन्।
बैठकपछि प्राधिकरणका अधिकारी संचार मन्त्रालयको पत्र लिएर प्राधिकरणको कार्यालय जमल पुगेका छन्।
प्राधिकरणअनुसार सुरूमा प्राधिकरणले संचार मन्त्रालयको पत्र अध्ययन गर्नेछ।
उक्त पत्रका आधारमा सेवाप्रदायक निकायलाई पत्राचार गर्नेछ र प्राधिकरणका तर्फबाट सूचना समेत जारी गर्नेछ।
प्राधिकरणका अनुसार नेपालमा १०७ आइपीएस र २ भ्वाइस अपरेटर सेवा प्रदायक छन्।
प्राधिकरणको पत्रपछि सेवाप्रदायक कम्पनीले सामाजिक सञ्जाल निष्कृय पार्ने काम अघि बढाउनेछन्।
जसअनुसार सबै सामाजिक सञ्जाल एकैपटक बन्द हुने नभई विस्तारै (लोडिङ, कनेक्टिङको अप्सन) नचल्ने हुँदै जानेछन्।
र, क्रम आर्ज (बिहीबार) देखि नै सुरू हुने प्राधिकरणले बताएको छ।
यसअघि, सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई नेपालमा सूचीकृत हुन अन्तिम पटकका लागि ७ दिनको समय दिएको थियो।
मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर दिइएको उक्त समयावधि बुधबार मात्रै गुज्रिएको छ।
तर, निर्धारित समयमा कुनैपनि सामाजिक सञ्जाल प्लेटफर्मले सूचीकरणका लागि निवेदन नदिएपछि सरकारले निष्कृय पार्न लागेको हो।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णयका आधारमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको बताएका छन्।
‘सर्वोच्चको परमादेश, मन्त्रिपरिषद्को निर्णय र दर्ता गर्नका लागि पटक–पटक गरिएको आग्रह अस्वीकार गरेपछि बन्द गर्ने निर्णयमा पुग्यौं,’ मन्त्री गुरुङको भनाई छ।
जसअनुसार फेसबुक, एक्स र युट्युबलगायत झण्डै २ दर्जन सामाजिक सञ्जाल बन्द हुनेछन्।
२ वर्षअघि सरकारले केही समयका लागि टिकटक बन्द गरेको थियो ।
