८ सामाजिक सञ्जाल कम्पनी सरकारको सम्पर्कमा आयो

सरकारी निर्णयपछि २६ मध्ये फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र ट्वीटर (एक्स) दर्ता प्रक्रियामा आउँदै

जनसम्मत
भाद्र २०, २०८२, शुक्रबार

सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि २६ मध्ये ८ वटा कम्पनी सम्पर्कमा आएका छन्।

बिहीबारको सरकारी निर्णयअनुसार नेपाल दूरसंचार प्राधिकरणले सामाजिक सञ्जालहरु निष्कृय बनाउन इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेपछि ८ वटा कम्पनी सरकारको सम्पर्कमा आएका हुन्।

बिहीबार नै फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको संचालक कम्पनी मेटाले सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको थियो।

यस्तै हाम्रो पात्रोले पनि बिहीबार नै दर्ता प्रक्रिया सुरु गरेको छ।

अर्बपति एलन मस्कको ट्वीटर (एक्स) पनि शुक्रबार दर्ता प्रक्रियामा आएको छ।

संचार तथा सुचना प्रविधि मन्त्रालयमा प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याट पनि सम्पर्कमा आएको छ।

यसैबीच, नेपालमा अत्यधिक प्रयोगमा रहेको युट्युब अझै सम्पर्कमा आएको छैन।

प्रवक्ता ठाकुरले निष्कृय बनाउने प्रक्रिया सुरु भएकाले अब पनि सम्पर्कमा नआउने सबै सामाजिक सञ्जालहरु बन्द हुने बताए।

स्न्याप च्याट, लिंक्ड इन, क्लब हाउस, इमो, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, जालो र सोल अझै सम्पर्कमा आएका छैनन्।