नेपाल एसीसी इस्टर्न रिजनमा फाइनल पुग्यो

सेमीफाइनलमा ८८ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो

जनसम्मत
असार २३, २०७६, सोमबार

पोखरा ।  घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटमा नेपाल फाइनल पुगेको छ ।

सेमीफाइनलमा ८८ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको जितमा भीम सार्की र रोहितकुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे । सार्की ३३ रनमा नट आउट रहे । रोहित ३१ रनमा नट आउट रहे । पवन शर्राफ १८ रनमा आउट भए । रित गौतम ३ रनमा पेभेलियन फर्किए । खडक बोहराले भने खाता खोल्न सकेनन् । मलेसियका हकिल मोहमदले २ विकेट लिए ।

त्यसअघि, किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो ।

नेपालको सानदार बलिङ आक्रमणसामु मलेसियाका ब्याट्सम्यानहरुको प्रदर्शन सुस्त बन्यो । मलेसियन टोलीले लामो साझेदारी गर्न सकेनन् । नेपाली टोलीका बलरले मलेसियन ब्याट्सम्यानहरुलाई लामो समयसम्म क्रिजमा टिक्नै दिएन । मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंकको रन जोड्न सके । मलेसियाका मुहम्मद अमिरले बनाएको २४ रन मलेसियाको पारीमा सर्वाधिक व्यक्तिगत अंक जोड्न सफल रहे ।

वान अमिरुल ११, हइकल मोहद खइर १२ र अहमद अलिफले १० रन जोडेर आउट भए । नेपाल प्रतियोगिताको साविक विजेता हो । बलिङतर्फ नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चिए । ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेका कुशल मल्लले २ विकेट लिए । रसिद खान र तिलकराज भण्डारीले समान १ विकेट लिए ।