सुदूरपश्चिमका नरेन्द्रसिंह राउतले जिते दोस्रो संस्करणको पर्वतीय दौडको उपाधि

विश्व पर्यटन दिवसमा आयोजना गरिएको दौड प्रतियोगितामा नेपाल सहित ८ देशको प्रतिनिधित्व थियो

जनसम्मत
असाेज ११, २०८२, शनिबार

सुदुरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले दोस्रो संस्करणको पर्वतीय दौडको उपाधि जितेका छन्।

विश्व पर्यटन दिवसका अवसरमा शनिबार पोखरामा आयोजना गरिएको दौड प्रतियोगितामा राउतले निर्धारित निर्धारित ८ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार रुपैयाँ पुरस्कार जिते।

पोखरा–२२ स्थित विश्वशान्ति स्तुपदेखि सुरु भएको दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्क पुगेर टुँगिएको हो।

यसैगरी, सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए।

करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाए।

दोस्रो भएका करनले ३० हजार र दलबहादुरले १५ हजार नगद पुरस्कार जिते।

यसैगरी, गौतम श्रेष्ठ चौथो हुँदै ७ हजार र सफल लामा पाँचौं बन्दै ३ हजार नगद पुरस्कार जिते।

विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ मिनेट ५१ सेकेण्डमा निर्धारित दूरी पार गरी उपाधि सहित १५ हजार नगद पुरस्कार जिते।

भेट्रान्सतर्फ गण्डकीबाट किशोर थापा प्रथम हुँदै १५ हजार पुरस्कार जिते।

यसैगरी, पोखरा–२२ वडातर्फको प्रतिस्पर्धामा कुशल परियार प्रथम र सुजल परियार दोस्रो बने।

महिलातर्फ कोशीकी पदमकुमारी सुनुवार प्रथम बनिन् भने बागमतीकी नीतु तामाङ द्धितीय बनिन्।

वडा र महिलातर्फ प्रथम र दोस्रोले जनही १५ हजार र ७ हजार पुरस्कार जिते। प्रतियोगिता अन्तर्गत यु–१६ को विधामा प्रकाश थिङ प्रथम र तीलबहादुर परियार द्धितीय हुँदै १५ हजार र ७ हजार पुरस्कार प्राप्त गरे।

खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल सहित ८ देशको प्रतिनिधित्व थियो।

विभिन्न ६ इभेन्टमा कुल ११७ धावक सहभागी भएको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए।

विश्व पर्यटन दिवस भएकाले दौड पूरा गरेका विदेशी धावकलाई पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले माला लगाई स्वागत गर।