
वेस्ट इन्डिजबीचको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ।
नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो।
संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो।
वेस्ट इन्डिजका नवीन बिदाइसीले सर्वाधिक २२ रन बनाए।
फेबियन एलेन र अमिर जांगुले समान १९/१९ रन जोडे।
नेपालका कुशल भुर्तेलले २ विकेट लिए।
दीपेन्द्रसिंह ऐरी, करन केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले समान १/१ विकेट लिए।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर १४८ रन बनाएको थियो।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रन बनाए।
कुशल मल्लले ३० रन थपे।
गुलशनकुमार झाले २२ रन जोडे।
यो जीतसँगै नेपालले ३ खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय श्रृंखला खेलेको हो।
वेस्ट इन्डिज २ पटकको टी–२० विश्वकप विजेता टोलीसमेत हो।
नेपालले अहिलेसम्म आइसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको थिएन।
ऐतिहासिक ‘युनिटी कप’ टी–२० श्रृंखला नेपालका लागि आइसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका रूपमा रहनेछ।
श्रृंखलाको दोस्रो खेल भोलि (सोमबार) र तेस्रो खेल पर्सि (मंगलवार) हुनेछ।