सुनमाया बनिन् विश्व ‘ट्रेल रन’ च्याम्पियनसीपकी उपविजेता

सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारिन्

जनसम्मत
असाेज १३, २०८२, सोमबार

नेपालकी सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेकी छन्।

स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन्।

बुढाले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरिन्।

सुनमाया पहिलो स्थान हात पारेकी अमेरिकी खेलाडी केटी शिम्टभन्दा २६ मिनेटले पछि परिन्।

तेस्रो संस्करणको यस प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ।

विश्व एथ्लेटिक्स र इन्टरनेसनल एसोसिएसन अफ अल्ट्रा रनर्सको सहकार्यमा विश्व माउन्टेन रनिङ एसोसिएसनले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा ८० देशका १ हजार ७ सय धावक सहभागी थिए।

यो हालसम्मकै सबैभन्दा ठूलो सहभागिता भएको बताइएको छ।

नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपालबाट सुनमायासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो।

८२ किलोमिटर लामो ट्रेलमा सुमन ३२ औँ स्थानमा र मनकुमारले ३६ औँ स्थानमा रहँदै ट्रेल रन पार गरेका छन्।