
विश्व क्रिकेटमा नेपालले सनसनी मच्चाएको छ।
युनिटी कप टी–२० श्रृंखलाको खेलमा नेपालले वेस्ट इन्डिजमाथि दोस्रो जीत निकाल्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो।
नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० श्रृंखलामा एक खेल अगावै विजयी भएको छ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गएराति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै यो श्रृंखलाको उपाधि जित्यो।
पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो।
गएरातिको खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट बन्यो।
वेस्ट इन्डिज १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए।
उनले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए।
यस्तै, एकिम अगष्टले १७ रन जोडे।
अमिर जांगोले १६ रन थपे।
नेपालको लागि आदिल आलमले ४ विकेट लिए।
यस्तै, कुशल भुर्तेलले ३ विकेट लिए।
ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।
यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल बनाएको थियो।
नेपालका लागि आसिफले सर्वाधिक ६८ रन बनाए।
उनले ४७ बलमा ८ चौका र २ छक्काको मद्दतले अविजित उहँदै उक्त रनको योगदान गरे।
यसैगरी, सन्दीप जोराले ६३ रन जोडे।
सन्दीपले ३९ बलमा ५ छक्का र ३ चौकासहित उक्त रन बनाएका हुन्।
यस्तै, मोहम्मद आदिल आलमले ११ रन थपे।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान २/२ विकेट लिए।
जेडिया ब्लेड्सले १ विकेट लिए।
टी–२० श्रृंखलाअन्तर्गत नेपालले वेस्ट इन्डिजसँग आज (मंगलबार) अन्तिम तेस्रो खेल खेल्दैछ।