नेपाल र बंगलादेशले मैत्रीपूर्ण फुटबलमा फेरि पनि २–२ को बराबरी खेल्यो

इन्ज्यूरी समयको चौथो मिनेटमा अनन्त तामाङले गरेको गोलसँगै नेपालले बराबरीमा खेल टुंग्यायो

जनसम्मत
कार्तिक २८, २०८२, शुक्रबार

नेपाल र बंगलादेशले फेरि पनि बराबरीको मैत्रीपूर्ण फुटबल खेलेको छ।

बंगलादेशको ढाकास्थित राष्ट्रिय रंगशालामा हिँजो (विहीबार) बेलुकी भएको मैत्रीपूर्ण फुटबल खेल २–२ को बराबरीमा सकिएको हो।

नेपालका रोहित चन्द र अनन्त तामाङले समान १/१ गोल गरे भने बंगलादेशका दुवै गोल हम्जा चौधरीले गरे।

डिफेन्डर अनन्त तामाङको गोलसँगै नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हारबाट जोगियो।

खेलमा सुरुआती अग्रता भने नेपालले लिएको थियो।

२९ औं मिनेटमा सुमित श्रेष्ठको कटब्याक पासमा रोहितले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो।

पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा भने अग्रतालाई जोगाउन सकेन।

खेल सुरु भएको ४ मिनेटमै हम्जा चौधरीले बंगलादेशका लागि २ गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए।

४६ औं मिनेटमा कप्तान जमल भुइयाँले दिएको फितलो पासमा सिक्स यार्डनजिक रहेका हम्जाले बाइसाइकल किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।

४९ औं मिनेटमा सुमन श्रेष्ठले पेनाल्टी बक्सभित्र बंगलादेशी खेलाडीलाई लडाउँदा रेफ्रीले पेनाल्टी दिए।

पेनाल्टीामार्फत किरण चेम्जोङलाई छक्काउँदै हम्जाले गोल गरे।

इन्ज्यूरी समयको चौथो मिनेटमा अनन्तले गोल फर्काए।

कर्नरबाट आएको बललाई उनले हेडर गर्दै गोल गरे र नेपाल हारबाट जोगियो।

नेपालले बंगलादेशसँग गएको भदौमा काठमाण्डौमा मैत्रीपूर्ण खेल खेलेको थियो।

त्यस खेलपनि गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो खेल भने जेन–जी प्रदर्शनको कारण रद्द भएको थियो।

अब, नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत मंसीर २ गते (मंगलवार) मलेसियासँग खेल्नेछ।