राखेप सदस्य सचिव सिलवालद्धारा सपथ ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारीसहित सदस्य सचिवको रुपमा प्रस्ताव गरेका थिए

जनसम्मत
असार २४, २०७६, मंगलवार

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का नवनियुक्त सदस्य सचिव नवराज सिलवालले पद तथा गोपनीयताको शपथ खाएका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई नियुक्ति पत्र प्रदान गर्दै पद तथा गोपनीयताको सपथ दिलाएका हुन् । मन्त्री विश्वकर्माले आइतबार सिलवाललाई (राखेप) को नयाँ सदस्य सचिवको रुपमा नियुक्त गरेका थिए ।

केशवकुमार बिष्टको चारबर्षे कार्यकाल असार ९ गते सकिएपछि युवा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा सरकारले सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारीसहित सदस्य सचिवको रुपमा प्रस्ताव गरेका थिए ।

सिलवाल निजी विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष समेत हुन् । नेकपा निकट खेलकुद संस्था मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष हुन् ।