
प्रेस काउन्सिल नेपालले रेडियो/टेलिभिजन, छापा र अनलाइन संचार माध्यममा आचारसंहिता अनुगमन प्रभावकारी बनाउन ‘फोकल पर्सन’ नै तोकेको छ।
शुक्रबार काउन्सिल सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बोर्ड बैठकले ३ जना सदस्यलाई विशेष जिम्मेवारी दिँदै आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन फोकल पर्सन तोकेको हो।
योसँगै, संचार माध्यम प्रभावकारी बन्ने काउन्सिलको विश्वास लिएको छ।
बैठकपछि जारी विज्ञप्तिमा टेलिभिजन/एफएम रेडियोतर्फ सदस्य नकुल अर्याल, छापातर्फ पदमराज जोशी र अनलाइनतर्फ शन्तराम बिडारीलाई ‘फोकल पर्सन’ तोकिएको जनाइएको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन देहायानुसारका सदस्यहरूलाई ‘फोकल पर्सन’ का रूपमा तोक्ने र आचारसंहिता प्रतिकूल घटनाका सम्बन्धमा जुनसुकै बखत सम्पर्क गरी उजुरी वा गुनासाहरु राख्न आम जनमानसमा आग्रह गर्ने।’
यस्तै, बैठकले पछिल्लो एक महिना अर्थात् २०८२ भदौ ५ देखि असोज ५ सम्म आमसंचार माध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी प्रतिवेदन तयार गर्न सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ।
मुलुकको ७ वटै प्रदेशमा पत्रकार आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
यसअघि, काउन्सिलले काठमाडौँ उपत्यकाका ६ वटा टेलिभिजनमा पत्रकार आचारसंहिता, श्रमजीवी पत्रकार र तत् तत् माध्यमको अवस्थाबारे गरेको स्थलगत नमुना अनुगमन प्रतिवेदनका आधारमा विभिन्न छापा माध्यम, एफएम रेडियो र अनलाइन माध्यमको पनि स्थलगत अनुगमन गर्ने भएको छ।
