
प्रेस काउन्सिलले नेपालले सोमबार आफ्नो ५६ औँ वार्षिकोत्सव मनाएको छ।
पछिल्लो समय देशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यसवर्षका अन्य कार्यक्रम स्थगन गर्दै काउन्सिलले सरल तरिकाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो।
काउन्सिलका सदस्य नकुल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलको ५० औँ वार्षिक प्रतिवेदन र अंग्रेजी प्रकाशन मिडिया जर्नल सार्वजनिक गर्यो।
वार्षिकोत्सवका अवसरमा हुँदै आएका विशेष कार्यक्रम र पुरस्कार प्रदान हाललाई नगरिएको काउन्सिलले जनाएको छ।
अघिल्ला वर्षहरूमा काउन्सिलले राष्ट्रपति कार्यालयमा भव्य समारोह गरी वार्षिकोत्सव एवं पुरस्कार वितरण गर्दै आएको थियो।
काउन्सिलको वार्षिक प्रगतिको संक्षिप्त विवरण प्रस्तुत गर्दै मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले हालैको जेन्जी आन्दोलनका कारण संचार माध्यम र पत्रकारमा परेको प्रभाव, पत्रकार र मिडियामाथि पटक–पटक हुने आक्रमणलगायतका विषयमा विशेष अध्ययन अनुगमन गर्ने योजना प्रस्तुत गरे।
उनले काउन्सिलका पूर्वाधार, विद्यमान प्रणालीहरूमा सुधार गरेर डिजिटल काउन्सिल बनाउने, काउन्सिल ऐन, सम्बद्ध नियम, विनियम, कार्यविधि निर्देशिका, आचारसंहिता संशोधन, परिमार्जन तथा सघीय संरचनाअनुसार स्थानीय तहसम्म संचार माध्यम, पत्रकारको अध्ययन अनुगमन कार्य अबको कार्यभार रहेको उल्लेख गरे।
कार्यक्रमको अध्यक्षता गरेका अर्यालले कुनैपनि राजनीतिक परिवर्तन र उपलब्धीमा काउन्सिल कति पनि विचलित नभई आफ्ना उद्देश्यमा सधैँ क्रियाशील रहँदै आएको र रहिरहने उल्लेख गरे।
आचारसंहिताको कार्यान्वयनमा काउन्सिलले सफलता प्राप्त गरेको उनले बताए।
उनले भने, ‘जसले इथिकल पत्रकारिता गर्छ, उही हो, मूलधार। मर्यादित पत्रकारिता गर्ने माध्यम र पत्रकार नै मूलधार हो भन्ने कुरा स्थापित हुँदै गएको छ।’
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संचार माध्यमले तथ्यबिनाका सामग्री सम्प्रेषण गर्दा क्षति बेहोर्नुपरेको उल्लेख गरिन्।
काउन्सिलको भूमिका संचार माध्यमको जवाफदेहिता अनुगमनतर्फ समेत बढेको शर्माको भनाइ थियो।
शर्माले संचार माध्यम कमजोर हुँदा देशी विदेशी शक्तिको चलखेल हुने टिप्पणी गरिन्।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले अहिलेको परिस्थितिमा काउन्सिलको महत्व र भूमिका अझै बढेको बताइन्।
मधेस मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादवले प्रादेशिक संरचनालाई सहयोगी निकायको रूपमा बुझिदिन अनुरोध गरे।
नेपाल बार काउन्सिलका उपाध्यक्ष तेजबहादुर रावलले काउन्सिलका ऐन, नियम, कानुन संशोधनमा सहयोग गर्न तयार रहेको बताए।
प्रेस काउन्सिल नेपाल कर्मचारी संघका अध्यक्ष रहमतुल्ला मियाँले कम जनशक्ति हुँदा पनि काउन्सिलले आफ्नो भूमिका प्रभावकारी बनाएर काम गरिरहेको चर्चा गरे।
काउन्सिलका सदस्य सचिव एवं सूचना तथा प्रसारण विभागका महानिर्देशक उदयबहादुर रानामगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिृकत दीपक खनालले सहजीकरण गरेका थिए।