
कर्णाली यशविसले लगातार दोश्रो पटक एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार बेलुकी भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हरायो।
कर्णालीले लगातार पहिलो र दोश्रो सेट २६–२४ र २५–१७ ले आफ्नो पक्षमा पार्यो।
त्यसपछि ललितपुरले पनि लगातार तेश्रो र चौथो सेट २५–१३ र २५–१७ ले आफ्नो पक्षमा पार्यो।
पाँचौ तथा अन्तिम सेटमा कर्णालीले उत्कृष्ट पुरागमन गर्दै १५–८ ले जित्दै उपाधि रक्षा गर्यो।
समूहको शीर्ष दुई स्थानमा रहँदै यी दुई टोलीले फाइनल खेलेका हुन्।
गएको वर्ष भएको पहिलो संस्करणको फाइनल खेलमा पनि कर्णालीले ललितपुरलाई हराउँदै उपाधि जितेको थियो।
लगातार दोस्रो पटक टोलीलाई उपाधि जिताएका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए।
उनीसँगै कर्णालीकी साफिया पुन उत्कृष्ट सर्भर घोषित भइन्।
लुम्बिनी लाभाजकी अरुणा शाहीले उत्कृष्ट सेटरको अवार्ड जितिन्।
दोस्रो भएको ललितपुरकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर बनिन्।
ललितपुरकै संगम महतो उत्कृष्ट ब्लकर घोषित भइन्।
तेस्रो भएको काठमाण्डौ स्पाइकर्सकी उषा भण्डारी उत्कृष्ट स्टाइकर चुनिइन्।
गएको भदौ २० गतेदेखि पोखरामा सुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा गएको बुधवारदेखि प्रतियोगिता फेरि सुरू भएको हो।
प्रतियोगितामा ६ वटा टोलीको सहभागिता थियो।