
प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको छ।
सदस्य भीमलाल श्रेष्ठको संयोकत्वमा सदस्यद्वय कुमारी निमा काफ्ले र बालकृष्ण अधिकारी सदस्य रहेको कार्यदल गठन गरेको हो।
काउन्सिलको सदस्य भीमलाल श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)मा भएका प्रावधानहरूको स्मरणसमेत गरायो।
साथै, वर्तमान बदलिँदो परिस्थितिमा संयमित भएर तथ्यपरक सामग्री सम्प्रेषण गर्न संपूर्ण पत्रकार तथा आमसंचार माध्यमलाई अपिलसमेत गरेको छ।
यसैबीच, सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा, आतंक, अश्लीलता र अपराधलाई प्रश्रय हुने तथा घृणाजन्य, हिंसा भड्काउने खालका अभिव्यक्तिलाई प्राथमिकता दिएर सामग्री प्रकाशन/प्रसारण नगर्न/नगराउन काउन्सिलले यस्तो आग्रह गरेको हो।
देशभरका आमसंचार माध्यममार्फत विज्ञापन बोर्डसँग समन्वय गरी पत्रकार आचारसंहितासम्बन्धी सन्देशमूलक सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ।
देशभरका पत्रकार र आमसंचार माध्यमको आधुनिकीकरण गर्नुपर्ने तथा व्यावसायिकता बढाउनुपर्ने भएकाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका पत्रकार तथा आमसंचार माध्यमलाई समेत विद्यमान सेवा–सुविधा उपलब्ध गराउन आवश्यकताअनुसार मिडिया विकास कोषसम्बन्धी विनियम र नीति संशोधन गरी प्रक्रिया अघि बढाउन सुझाव दिने निर्णयसमेत गरेको प्रेस काउन्सिल नेपालद्वारा ज्ञारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
