‘तथ्यगत परीक्षणबेगर समाचार सामग्री सम्प्रेषण नगरौं’

जेन.जी (Zen Z) आन्दोलनका समयमा १४ संचार माध्यम र ३ वटा सामाजिक सञ्जालबाट भ्रमपूर्ण र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएको पाइएको प्रेस काउन्सिल नेपालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ

जनसम्मत
कार्तिक १३, २०८२, बिहीवार

प्रेस काउन्सिल नेपालले तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण नगर्न/नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आग्रह गरेको छ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले कतिपय मिडियाबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट समेत त्यस्तो देखिएको भन्दै संचार माध्यमलाई सचेत रहन आग्रह गरेको हो।

काउन्सिलका सह–प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिताका मूल्य/मान्यताविपरीत गैरपेसागत आचारण गर्ने, तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी समाजमा उत्तेजना/अफवाह/भ्रम फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिल आग्रह गर्दछ।’

काउन्सिलले परिस्थितिलाई उत्तेजक बनाउन नियोजितरूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमरोड गरी सामग्री प्रकाशन गर्ने, तथ्य पुष्टि नभएका/यथेष्ट आधारप्रमाण नभएका सामग्रीलाई सामाजिक सञ्जालबाट समेत सम्प्रेषण गरी अतिरञ्जित गर्ने कार्य पेसागत आचरणविपरीत एवं गैरकानुनी भएकाले यस्तो कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ।

यसैबीच, प्रेस काउन्सिल नेपालले गर्दै आएको संचार माध्यमको स्वअनुगमनमा जेन.जी (Zen Z) आन्दोलनका समयमा १४ संचार माध्यमले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको पाइएको छ।

मिडिया अन्तर्गत रहेका १४ र मिडिया अन्तर्गत नरहेको ३ वटा सामाजिक सञ्जालबाट भ्रमपूर्ण र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएको पाइएको जारी विज्ञप्तिमा जनाएको हो।

स्वअनुगमनका क्रममा ११ वटा माध्यमलाई सचेत गराइएको र १ समाचार एजेन्सीलाई जवाफ मागिएको र अन्यलाई कारबाही र अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ।

‘२०८२ भदौ २३ र २४ गते भएको जेन.जी. (Zen Z) आन्दोलन समयमा संचार माध्यम एवं सोका सामाजिक सञ्जालबाट १४ वटा र कुनैपनि मिडियाअन्तर्गत दर्ता नदेखिएका एवं सम्पर्क ठेगाना समेत उल्लेख नभएका ३ वटा सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता प्रतिकूल भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको छ।’

विज्ञप्तिमा भनिएको छ, ‘अनुगमनपश्चात ११ वटा माध्यमलाई निर्देशन एवं सचेत गराइएकोमा ७ वटाले क्षमायाचनासहित भुलसुधार र एक समाचार एजेन्सीलाई जवाफ माग गरिएकोमा क्षमायाचना गरी जवाफ पेस गरेको छ। ३ वटालाई कुनै जवाफ पेस नभएको हुँदा ताकेता गरिएको छ। ४ वटाले सामग्री स्थगन गरेका छन् भने बाँकी ३ वटा सम्पर्क ठेगाना नभएका कारण थप अनुसन्धान भइरहेको छ।’

काउन्सिलले सञ्चार माध्यमले संचालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै मिडियाको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको समेत प्रवृत्तिगत अनुगमन गरिरहेको छ।

काउन्सिलले हालै आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन काउन्सिलका सदस्यलाई ‘फोकल पर्सन’ तोकी अनुगमन कार्य अघि बढाएको छ।

चालु आर्थिक वर्षको हालसम्म ११७ वटा उजुरी काउन्सिलमा दर्ता भएको र ६३ वटा सामग्रीको स्वअनुगमन हुँदा २० वटामा आचारसंहिता प्रतिकूल भएको देखिएको विज्ञप्तिमा उल्लेख छ।

कुल उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात खण्डन सम्प्रेषण गरी ५५ वटाले पेस गरेको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको, १२ वटाले क्षमायाचना/भुलसुधार गरेको, ३ वटाले सामग्री स्थगन गरेको, ४ वटालाई स्पष्टीकण सोधिएको, १२ वटालाई निर्देशन एवं सचेत गराइएको र ३१ वटा प्रक्रियामा रहेको काउन्सिलले जनाएको छ।

हेरौं, प्रेस विज्ञप्ति