प्रेस काउन्सिलका सदस्य–सचिव पराजुलीलाई काउन्सिलमा स्वागत

‘काउन्सिल बलियो भएमा समाज, सरकार, संचार माध्यम र नागरिकसमेत बलियो हुन्छ’

जनसम्मत
कार्तिक २७, २०८२, बिहीवार

प्रेस काउन्सिल नेपालका सदस्य–सचिव छबीन्द्र पराजुलीलाई विहीबार काउन्सिलमा स्वागत गरिएको छ।

काउन्सिलका सदस्यहरू कुमारी निमा काफ्ले, पदमराज जोशी, विजयराज अधिकारी, शन्तराम बिडारी, मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सह–प्रशासकीय अधिकृत रामशरण बोहरालगायत कर्मचारीले उनलाई काउन्सिलमा स्वागत गरेका हुन्।

स्वागतका क्रममा सदस्य कुमारी निमा काफ्लेले काउन्सिलले सदस्य–सचिव र काउन्सिलको टिमको सहकार्यबाट परिणाममुखी कार्य हुने विश्वास व्यक्त गरेकी छन्।

सदस्य–सचिव पराजुलीले काउन्सिल बलियो भयो भने समाज, सरकार, संचार माध्यम र नागरिकसमेत बलियो हुने बताए।

संचार क्षेत्रका सबै सरोकारवाला निकाय एक ढिक्का भएर अगाडि बढे काउन्सिललाई बलियो बनाउन सकिने सदस्य–सचिव पराजुलीको भनाइ थियो।

मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलको स्थापना, संरचना, काम–कारबाहीका बारेमा संक्षिप्त जानकारी गराएको कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्यायको समेत सहभागिता थियो।