
युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ लाई मेजर लक्ष्मीप्रसाद/हुमकुमारी गुरुङ एमबीओ बीइएम टुजीआर युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
आदिवासी जनजाति पत्रकार महासंघका सचिव एमबी आस्था र पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङले ‘सुमन’ लाई बुधबार पुरस्कार प्रदान गरेका हुन्।
पत्रकार ‘सुमन’ लाई पुरस्कार राशि १० हजार नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको हो।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको आयोजनामा भएको एक कार्यक्रममा ‘सुमन’ लाई पुरस्कार प्रदान गरेको हो।
‘सुमन’ ले २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा संचार क्षेत्रमा संचारयात्रा एवं पत्रकारिता पेशा सुरु गरेका थिए।
त्यसपछि, उनी एफएम रेडियो हुँदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आएका छन्।
हाल, उनी समाधान दैनिक, एबीसी टिभी र राष्ट्रिय समाचार समिति (रासस) सँग आबद्ध छन्।
हाल, उनी नेपाल पत्रकार महासंघ कास्कीमा सह–सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव पदमा कार्यरत छन्।
पुरस्कार अर्पणपछि गुरुङले पत्रकारिता क्षेत्रमा लाग्नका लागि प्रेरणा मिलेको बताए।
आगामी दिनमा दृढताका साथ अघि बढ्न प्रेरित गर्ने उनको भनाई थियो।
‘पत्रकारिता केवल पेशा होइन, यो समाजको धड्कन सुन्ने कला हो। कहिले कठोर, कहिले कोमल, कहिले विवादास्पद तर सधैं नै सत्यतर्फ उन्मुख यस बाटोमा थुप्रै अवरोध, थुप्रै चुनौती आउँछन्, ’उनले भने, ‘तर आज यो सम्मानले मलाई भन्छ अझ दृढताका साथ अघि बढ्न प्रेरित गरेको छ।’
कार्यक्रममा एमबी आस्था,पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङलगायतले बोलेका थिए।
फोनिज कास्कीका अध्यक्ष बिनु मगरको अध्यक्षतामा भएको कार्यकम सचिव देविका घर्तिले संचालन गरेकी थिइन्।