दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल उपविजेता

नेपाललाई ७ विकेटले हराउँदै भारतले उपाधि जित्यो

जनसम्मत
मंसिर ७, २०८२, आइतबार

दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ।

श्रीलंकाको कोलम्बोस्थित पिसारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारतले उपाधि जित्यो।

नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो।

भारतकी फुला सरेनले नटआउट ४४ रन बनाइन् ।

नेपालकी दिल्लीसरा धमलाले १ विकेट लिइन्।

यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनायो।

नेपालकी सरिता घिमिरेले नटआउट ३३ रन बनाइन्।

भारतकी जमुना रानी टुडु र अनु कुमारीले १/१ विकेट लिए।

हिँजो (शनिबार) भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो।

यस्तै, भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराएको थियो।

भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भएको पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल, भारत, श्रीलंका,

पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ वटा टोलीले प्रतिस्पर्धा गरेको थियो।