
आगामी माघ २७ देखि फागुन ९ गतेसम्म २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
सहारा क्लब पोखराको आयोजनामा हुने २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको मिति तय भएको हो।
आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने क्लबले सोमबार पत्रकार सम्मेलनमा जनाएको हो।
यो संस्करण आहा ! रारा पोखरा गोल्ड कपको रजतजयन्ती संस्करणसमेत हो।
क्लब अध्यक्ष केशवबहादुर थापाले अखिल नेपाल फुटबल संघबाट उक्त समय तालिका प्राप्त भएको जानकारी गराए।
सोहीअनुसार क्लबले आहा ! रारा पोखरा गोल्ड कपको तयारी सुरु गरेको जनाए।
प्रतियोगितामा केही विदेशी टोलीले पनि भाग लिने भएपनि टुंगो नलागिसकेको थापाले बताए।
सहारा क्लब पोखराले २०५८ सालबाट पोखरा रंगशालामा निरन्तर रुपमा संचालन गर्दै आएको राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप नेपालमा नियमित हुने एकमात्र प्रतियोगिता हो।
आहा ! रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको संरक्षक पोखरा महानगरपालिका, विशेष सहयोग राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सह–उपप्रायोजक पोखरा महानगरपालिका वडा नम्बर ९ रहनेछ।
कार्यक्रममा पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आहा ! रारा पोखरा गोल्डकपले फुटबलको विकाससँगै पोखराको चिनारी फैलाउन मद्दत पुगेको बताए ।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले सहारा क्लबसँको सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए।
सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गरेको च्यारिटी डिनर नाइटबाट १७ लाखभन्दा बढि बचत भएको छ।
क्लबले सोमबार च्यारिटी डिनर नाइट कार्यक्रमको आय–व्यय सार्वजनिक गर्ने क्रममा कुल २४ लाख १९ हजार १७७ रुपैयाँ आम्दानी भएकोमा खर्च कटाएर १७ लाख ४१ हजार ६२६ रुपैयाँ बचत भएको जानकारी गरायो।
क्लबले एकेडेमीको सहयोगार्थ प्रत्येक वर्ष देउसीभैलो कार्यक्रम संचालन गर्दै आएको थियो।
तर, यसपाली भने देउसीभैलो कार्यक्रम स्थगित गरी पहिलो पटक गत कार्तिक १४ गते च्यारिटी डिनर आयोजना गरेको थियो।
क्लबका महासचिव गंगाराम पौडेलकाअनुसार टिकटबाट १० लाख ८७ हजार, नगद सहयोग १० लाख ८९ हजार र उठ्न बाँकी २ लाख ४२ हजार छ।
क्लबले २५ हजारभन्दा बढी सहयोग गर्ने दाताको नामसमेत सार्वजनिक गरेको छ।
तीमध्ये हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसीबाट १ लाख ५१ हजार, निर्देशक प्रकाश केसीबाट १ लाख २५ हजार, सहारा युकेबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।
क्लबका मानार्थ सदस्य एमबिई दिलीपकुमार गुरुङ सल्लाहकार टीकाबहादुर कार्की, साधारण सदस्य चन्द्रबहादुर गुरुङबाट जनही ५१ हजार सहयोग प्राप्त भएको तथा क्लब सह–कोषाध्यक्ष विष्णु गुरुङले ५० हजार, क्लबका शुभेच्छुक विनोद गुरुङले ३० हजार सहयोग गरेको महासचिव पौडेलले जानकारी गराए।
त्यस्तै, सहारा युकेका सल्लाहकार दिलरास गुरुङ, तमुधी युकेका अध्यक्ष जुमकाजी गुरुङ, सहारा क्लब युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक मिलन तमु, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, पूर्व सह–कोषाध्यक्ष अशोक–पार्वती लालचन र क्लब शुभेच्छुक सरिता गुरुङले जनही २५ हजार रुपैयाँ उपलब्ध गराएको जनाइएको छ।