एएफसी यु–१७ एसियन कप छनोट: नेपालको लगातार दोस्रो हार

घरेलु टोली म्यानमारसँग नेपाल ४–० ले पराजित

जनसम्मत
मंसिर ८, २०८२, सोमबार

एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।

नेपालले दोस्रो खेलमा घरेलु टोली म्यानमारसँग पनि नेपालले पराजय ब्यहोरेको हो।

शनिबारको पहिलो खेलमा सिरियासँग ४–२ ले पराजित नेपाल सोमबार घरेलु टोली म्यानमारविरुद्ध ४–० ले निराश हुनुपर्‍यो।

म्यानमारको याङ्गुस्थित थुवुन्ना रंगशालामा नेपालले पहिलो हाफमा १ गोल खाएको थियो।

दोस्रो हाफमा म्यानमारले ३ गोल थप्यो।

म्यानमारको जितमा ये नाइङ अङ, अङ थि हा, म्यो खान्त क्या र विन मिन थान्तले समान १/१ गोल गरे।

हारसँगै नेपाल अंकतालिकाको पुछारमा झरेको छ।

नेपाल शून्य अंकमा समेटिएको छ।

म्यानमारले भने २ खेलमा स्पष्ट ६ अंक जोड्दै हालका लागि शीर्ष स्थानमा उक्लिएको छ।

आफ्नो पहिलो खेलमा म्यानमारले अफगानिस्तानको चुनौती २–१ ले पन्छाएको थियो।

समूह ‘जी’ मा रहेको नेपालले बुधबार ओमानसँग खेल्ने तालिका छ।

त्यसपछि दिन बिराएर नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

समूह विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपको २१ औं संस्करणका लागि छनोट हुनेछ।

सोमबारको नतिजापछि एसियन कप खेल्ने नेपालको संभावना न्युन बनेको छ।