पोखरामा छैटौं संस्करणको य:मरी खाना महोत्सव हुँदैं

महोत्सवको तयारी अन्तिम चरणमा

जनसम्मत
मंसिर १०, २०८२, बुधबार

पोखरामा यही मंसीरको १३ गते छैटौँ संस्करणको य:मरी महोत्सव हुँदैछ।

पोखरा महानगरपालिका वडा नं. ४ को आयोजना र नेवा मिसा पुच: कास्कीको आह्वान र पोखरा–४ मा स्थित मिसा पुच:हरुको सहकार्यमा महोत्सव हुन लागेको हो।

आयोजक पोखरा महानगरपालिका वडा नं. ४ ले बुधबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

कला संस्कृतिको संरक्षण एवं आन्तरिक पर्यटनको प्रवर्द्वन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पोखरा ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिएका छन्।

गणेशटोलस्थित गणेशमन्दिर परिसरमा हुने महोत्सवमा य:मरी प्रतियोगीतासँगै लक्ष्य ब्याण्डको लाइभ कन्सर्ट र विद्यार्थीहरुको नृत्य प्रतियोगितासमेत हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

शनिबार बिहान ११ बजेबाट महोत्सव सुरु हुने छ।

त्यसअघि, पोखरा ४ पुरानो वडा कार्यालयबाट झाँकी र्‍याली निकालिने कार्यक्रम छ।

पालिखेचोकबाट सुरु हुने र्‍याली महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्ण टोल हुँदै पुन: महोत्सवस्थल गणेशटोलमा आएर समापन हुनेछ।

य:मरी प्रतियोगिताका लागि हालसम्म २१ समुहले नाम दर्ता गराइसकेको अध्यक्ष पराजुलीले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने समुहले १५ हजार, दोस्रो हुने समुहले १० हजार, तेस्रो हुने समुहले ५ हजार नगदका साथमा प्रमाणपत्र पुरस्कार पाउनेछन्।

यस्तै, सान्त्वना हुने समुहले ३ हजार नगद र प्रमाणपत्र पाउनेछ।

प्रतियोगीतामा सहभागी सबै समूहलाई १५ सय रुपैयाँ नगद प्रदान गरिने छ।

प्रभातफेरी कार्यक्रममा सहभागी हुनेमध्ये प्रथम दोस्रो र तेस्रो हुने आमा समुह, टोल विकास संस्थालाई क्रमश: ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने छ।

पत्रकार सम्मेलनमा बोल्दै नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेले य:मरी महोत्सवलाई आगामी वर्षहरुमा पनि थप व्यवस्थित बनाएर निरन्तरता दिदै लैजाने बताए।

महोत्सवकै कारण यो:मरीको माग समेत बढ्दै गएको पालिखेले उल्लेख गरे।

बिशेषगरी जाडो महिनामा य:मरी खाइन्छ।

नेपाल भाषामा य: मरीको अर्थ ‘मन परेको मिठो रोटी’ भन्ने हुन्छ।

नेवा मिसा: पुच: कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले य:मरी चामलको पिठोमा तील, चाकु, मास राखेर बनाउने प्रचलन भएपनि अहिले

आवश्यकताअनुसार खुवा, चकलेट, मासुलगायत सामाग्री राखेर समेत यो:मरी बनाउन थालिएको बताइन्।

य:मरीको साँस्कृतिक धार्मिक तथा बैज्ञानिक महत्व रहेको छ।

पोखरा–४ मा गतवर्ष पनि यो:मरी महोत्सव भएको थियो।