
आगामी वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपमा नेपाली यु–१७ पुरुष फुटबल टोलीको खेल्ने सपना समाप्त भएको छ।
छनोट प्रतियोगितामा लगातार तेस्रो हार व्यहोरेपछि नेपाल एसियन कपमा पुग्न असफल भएको हो।
म्यानमारको याङ्गुनस्थित थुवुन्ना रंगशालामा बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले ओमानसँग ५–० को फराकिलो हार व्यहोर्यो।
खेलको पहिलो हाफमै ओमानले ३ गोल गर्दै नेपालमाथि बलियो अग्रता बनायो।
ओमानले बाँकी २ गोल दोस्रो हाफमा गरेको थियो।
ओमानले लगातार दोस्रो जीत दर्ता गर्दै ६ अंकसहित समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ।
यसअघि, ओमानले सिरियालाई ३–१ ले पराजित गरेको थियो।
नेपाल भने यसअघि म्यानमारसँग ४–० र सिरियासँग ४–२ ले हार ब्यहोरेको थियो।
अब, समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्ने छ।