
आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ संचार संस्था तथा सामाजिक सञ्जालहरु प्रेस काउन्सिल नेपालको कारबाहीमा परेका छन्।
\प्रेस काउन्सिल नेपालले काउन्सिलका अनुसार मिडिया अन्तर्गत आबद्ध भएका २५ वटा संस्थालाई आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन गरेकोमा कारबाही गर्दै अब त्यस्ता सामग्री सम्प्रेषण नगर्न/नगराउन निर्देशन एवं सचेत गराइएको सह–प्रवक्ता रामशरण बोहराले जानकारी दिए।
काउन्सिलले मिडियाकै झल्को दिने तर दर्ता/अभिलेख नभएका १० वटालाई त्यस्ता सामग्री स्थगन गर्न र नियमानुसार दर्ता/अभिलेख गरी कानुन, आचारसंहिता एवं पेसागत मूल्य मान्यता तथा आचरणको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न/गराउन निर्देशन एवं सचेत गराएको जनाएको छ।
काउन्सिलका अनुसार कुनै सम्पर्क ठेगाना नभएका १३ वटालाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार गरिएको छ।
प्रेस काउन्सिल नेपालले आमसंचार माध्यम र संचार माध्यमसँग सम्बन्ध भएका सबै संचार माध्यमकै झल्को दिनेगरी संचालित सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गर्दै आएको छ।
पछिल्ला दिनहरुमा यस्ता सञ्जालबाट अश्लील, उत्तेजक आचारसंहिता प्रतिकूल सामग्रीको सम्प्रेषण बढ्दै गएकोले काउन्सिलले विशेष अनुगमन नै थालेको छ।
गलत, निराधार, भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधीनताविरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढावा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक एवं थम्बनेल बनाइ जनमानसमा भ्रम फैलाउने, उत्तेजित बनाउने, त्रसित पार्ने अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने कार्य प्रचलित कानुन एवं पत्रकार आचारसंहिता विपरीत कार्य भएको काउन्सिलको ठहर छ।
काउन्सिलले त्यस्ता सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गर्नेमाथि कारवाही चलाउँदै आएको छ।
