
नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण गरिएको छ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घलेलगायतले महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिको शपथ गराएका हुन्।
यससँगै, निवर्तमान अध्यक्ष शान्त पहारीको कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गराएको हो।
महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट अध्यक्षमा रविन्द्र श्रेष्ठ, २ उपाध्यक्षमा मनिषा चम्लागाई र लक्ष्मी शर्मा, सचिवमा अर्जुन लामिछाने, २ सह–सचिवमा विष्णु सापकोटा र फुर्वा शेर्पा र कोषाध्यक्षमा भुलबहादुर राना (निशान राना) निर्वाचित भएका थिए।
अधिवेशनबाट दिनेश थापा, भवानी भट्ट, रामचन्द्र गिरी, भुवन भण्डारी, दुर्गा प्रसाद आचार्य र विनोद ढकाल सदस्यमा निर्वाचित भएका थिए।
निर्वाचन समिति संयोजक खगराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य खड्क गुरुङले स्वागत र सदस्य पूर्ण चलाउनेले कार्यक्रम संचालन गरेका थिए।
यसैबीच, नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
बैठकले संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहारी तथा अध्यक्षका निकटतम प्रतिद्वन्द्वी राजन गौतमलाई सल्लाहकारमा चयन गरेको छ।
बैठकले महासंघलाई जापानमा विधिवत् रूपमा दर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन अध्यक्ष रविन्द्र श्रेष्ठ संयोजक, शान्त पहारी र दीपक गौतम सदस्य रहेको समितिलाई जिम्मा दिएको छ।
नेपाल पत्रकार महासंघ जापान शाखालाई अझ सकृय र प्रभावकारी बनाउने उद्देश्यले नेपालीहरूको बसोबास बढी रहेका ३ क्षेत्रमा ‘मिडिया समन्वय समिति’ गठन गर्ने निर्णय समेत गरेको छ।
जसमध्ये नागोया क्षेत्रमा भूलबहादुर राना (निशान), ओसाका क्षेत्रमा रामचन्द्र गिरी र हिरोशिमा/फुकुओका क्षेत्रमा भुवन भण्डारीलाई क्षेत्रगत समन्वयकर्ताको जिम्मेवारी प्रदान गरेको छ।
बैठकले पत्रकारिता पुरस्कार स्थापना गर्ने तथा पत्रकार कल्याण कोषको कार्यविधि बनाउन निवर्तमान अध्यक्ष शान्त पहारीको संयोजकत्वमा सचिव अर्जुन लामिछाने र कोषाध्यक्ष भुलबहादुर राना (निसान) सदस्य रहेको कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ जापान शाखाले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रमसमेत गरेको छ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्दै प्रवासमा काम गर्ने पत्रकारहरूले तथ्यपरक सूचना, पेशागत आचारसंहिता तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा विशेष ध्यान दिन निर्देशन दिइन्।
नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजित कार्यक्रममा जापानभरबाट विभिन्न संचारमाध्यममा संलग्न नेपाली पत्रकारहरूको सकृय उपस्थिति थियो।