
एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेता बनेको छ।
सोमबार भएको फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित भयो ।
यूएईको कारवानमा सोमबार भएको फाइनलमा घरेलु टोलीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १ सय २० रन बनाउँदा अलआउट बन्यो।
नेपालका कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए।
यूएईका युग जय शर्मा र अली असगर शम्सले समान ३/३ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङ गरेको यूएई ४५ ओभर ५ बलमा १ सय ४७ रन बनाउँदा अलआउट बन्यो।
यूएईका अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए।
नेपालका दयानन्द मण्डलले ६ विकेट लिए।
त्यस्तै, अपराजित पौडेलले २ विकेट लिए।
नितिशकुमार पटेल र कप्तान अशोक धामीले समान १/१ विकेट लिए।
नेपाल र यूएई यसअघि नै एसीसी–१९ वर्षमुनिको एसिया कपमा छनोट भएका छन्।
यस्तै, तेस्रो स्थानका लागि सोमबार नै भएको खेलमा ओमानलाई हराउँदै मलेसिया पनि एसिया कपमा छनोट भएको छ।
१९ वर्षमुनिको एसिया कप यही डिसेम्बर १२ देखि यूएईमै हुँदैछ।