नेपाललाई एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

उपाधिसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू–१९ क्रिकेटका लागि छनोट भएको छ

जनसम्मत
असार २५, २०७६, बुधबार

पोखरा । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू–१९ क्रिकेटका लागि छनोट भएको छ ।

हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान पवन शर्राफ र रित गौतमले ३९ बलमा ५२ रनको साझेदारी गरे । रितले १३ रन बनाएर आउट भए । उनले २ चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका खडकबहादुर बोहरा र पवनले २३ रनको साझोदारी गर्दै टिमलाई जितको नजिक पु¥याए । पवनले ३९ रन बनाएर आउट भए ।

पवनले ३६ बलको फेस गर्दै ५ चौका र १ छक्का प्रहार गरे । खड्कले ८ रन बनाएर आउट भए । उनले २२ बलको फेस गर्दै १ चौका प्रहार गरे । रोहित क्रिजमा आएपछि ४ रनको साझेदारी गर्दै खडक आउट भएका थिए । त्यसपछि भीम सार्की र रोहितले टिमको स्कोर ९३ रन पु¥याएपछि रोहित क्याच आउट भए । रोहितले १२ रनमा पेभेलियन फर्किएका हुन् ।

क्रिजमा भीम र हरिबहादुर चौहानले २ रन लिए र नेपाललाई च्याम्पिएन बनाए । भीम ८ रनमा नट आउट रहँदा खाता नै नखोली हरिले साथ दिएका थिए । हङकङका मोहम्मद हसन खान, मोहम्मद हसन र रौनक कपुरले समान १ विकेट लिए ।

दुई पटक भएको टस हारेर पहिला ब्याटिङ गरको हङकङले ४३ दशमलव १ ओभरमा ९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिलो पटक टस गर्दा क्वाइन भुइँमा सिधै गाडिएपछि दोस्रो पटक टस गर्नुपरेको थियो ।

नेपाली युवा लेगस्पिनर सागर ढकालले हङकङको ब्याटिङ लाइन अपलाई ध्वस्त बनाउन सफल भएका थिए । पहिलो ओभरमै मेडन विकेट लिएका सागरले ५ विकेट लिए । पहिलो र दोस्रो विकेटको साझेदारी सागरले शून्य रनमै तोडेका थिए ।

तेस्रो विकेटका लागि भने हङकङले भने २९ रनको साझेदारी गरेको थियो । अदित गोररा र कालन मार्कले यो साझेदारी गरेका थिए । तर मार्कलाई हङकङको स्कोर २९ रन हुँदा सागरले नै व्यक्तिगत तेस्रो शिकार गरे ।

मार्क जम्मा १९ रन बनाएर आउट भए । उनले २ चौका र १ छक्का प्रहार गर्दै नेपाली फिल्डरमाथि दवाब बनाउने प्रयास गरेका थिए । त्यसपछि चौथो विकेटको साझेदारी पनि शून्यमा नै तोडियो । चौथो विकेटको रुपमा सागरले आरुस भागवतलाई खाता खोल्न नदिई पेभेलियनको बाटो देखाए ।

पाचौँ विकेटको रुपमा अदित गरोरा र मेहरनकाबीचमा १८ रनको साझेदारी भयो । उक्त साझेदारीलाई पनि सागरले नै तोडिदिए । उनले मेहरनलाई आउट गरेका हुन् । सुरुका पाँचै विकेट सागरको नाममा रह्यो । छैटौं विकेट भने तिलकराज भण्डारीले लिएका थिए । भण्डारीको व्यक्तिगत पहिलो सफलता भएपनि टिमका लागि भने छैटौं सफलता थियो ।

अरोरा हङकङबाट सर्वाधिक २४ रन बनाउने खेलाडी बने । उनी भण्डारीको बलमा कप्तान रोहितको हातबाट क्याच आउट भए । टिमका लागि सातौं सफलता कमलसिंह ऐरीले दिलाए । उनले मोहम्मद हसन खानलाई आउट गरे । आठौं सफलता पनि ऐरीकै नाममा रह्यो । हङकङको स्कोर ७० रन हुँदा रौनक कपुरलाई ऐरीले आउट गरे ।

३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट खर्चिएको थियो । अन्तिममा मोहम्मद हसन र अब्बदुर उर्सलने २५ रनको साझेदारी गरेपछि हङकङको टिम ९५ रनमा पुगेको थियो । नेपालका सागर ढकालले ५ विकेट लिँदा कमलसिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले समान १ विकेट लिए ।

श्रीलंकामा यू–१९ एसिया कप अगस्ट र सेप्टेम्बरमा आयोजना हुँदैछ । जसमा घरेलु टोली श्रीलंका, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत, यूएई, कुवेत र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।