
पोखरामा यस वर्षपनि २७ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ हुने भएको छ।
आगामी पुसको १३ गतेदेखि १७ गतेसम्म लेकसाइडको साढे ३ किलोमिटर क्षेत्रफलमा महोत्सवको आयोजना गरिने आयोजक रेवान पोखराद्वारा विहीबार विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जनाएको छ।
महोत्सवको तयारी तीब्र पारिएको आयोजक रेवान पोखराले जनाएको छ।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य
पर्यटकलाई अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा विकास गरेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए।
कला, संस्कृति प्रवर्द्धन गर्न, स्थानीयस्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाइडको प्रचार–प्रसार, यहाँको व्यापार बढाउन, पोखराको ब्राण्डिङ गर्न महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जनाए।
गौतमका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, म:म तथा ससेज खाने प्रतियोगितालगायत अन्य थप प्रतियोगिताहरु हुनेछन्।
महोत्सवमा सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन्।
त्यस्तै, महोत्सव अवधिभर पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतिका विषयमा केन्द्रीत अन्तरक्रिया कार्यक्रम पनि हुने संयोजक गौतमले उल्लेख गरे।
महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने रेवान पोखराका पूर्वअध्यक्ष नरेश भट्टराईले जानकारी दिए।
महोत्सवको अवसरमा पोखराका विभिन्न शाहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवर्द्धन गरिने भट्टराईको भनाई छ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा सडक महोत्सवको आयोजना रेवान पोखराले गरेपनि यो महोत्सव सबैको साझा महोत्सव भएको स्पष्ट पारे।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले महोत्सव अवधिभर खानामा गुणस्तर कायम गर्दै बस्ने र खाने कुराको मूल्य आकासिने गरेको गुनासो हरेक वर्षको महोत्सवमा आउने गरेकाले यस वर्ष विशेष निगरानी राख्न सुझाव दिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सवलाई सफल बनाउन पोखरेली पत्रकारको सहयोग रहने प्रतिद्धता जनाए।
नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष–२०२५ र पोखरा पर्यटन परिषद्ले मेलाको प्रवर्द्धन गर्नेछन्।