
नेपालकी गोल्डेन गर्ल सन्तोषी श्रेष्ठले विश्वकै प्रमुख म्याराथनमध्येको एक स्पेनको भ्यालेन्सिया म्याराथन–२०२५ मा नयाँ कीर्तिमान बनाएकी छन्।
आइतबार सन्तोषीले २ मिनेट २७ सेकेन्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्।
यससँगै उनले यसै वर्ष पछिल्लो ८ महिनाभित्र ५ वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
सन्तोषीले २ घण्टा ४० मिनेट २३ सेकेन्डमा म्याराथन (४२.२ कि.मि.) पूरा गर्दै गत अप्रिल/वैशाखमा लन्डन म्याराथन (२:४२:५०) मा बनाएको राष्ट्रिय कीर्तिमानलाई थप सुधार गरेकी हुन्।
लन्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन (२:४६:२६) मा बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेर नयाँ कीर्तिमान बनाएकी थिइन्।
यससँगै उनी विश्वभरका ८ हजार ९२१ महिला एलिट रनरहरू सहभागिता रहेको यस म्याराथनमा ८० औँ स्थान हासिल गरेकी छन्।
त्यस्तै, गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
साथै, यही कार्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसीप, राँचीमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कास्य पदकसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
नेपाल युके रनको पहल र प्रवर्द्धनमा सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन्।
ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्यान्डको फेलोसीपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहीँको अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रशिक्षणमा थिइन्।
साथै, नेपालमा उनी मिसन–२०२६ अन्तर्गत पनि प्रशिक्षणमा छिन्।
सन् २०१९ मा १३ औँ सागमा नेपालका लागि ऐतिहासिक एथलेटिक्सतर्फ स्वर्ण पदक दिलाउने पहिलो नेपाली महिला खेलाडीको रूपमा इतिहास बनाएपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लको उपमाले चिनिन्छन्।
मध्यम दुरीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी सन्तोषीले १३ औँ सागयता घरेलु मैदानमा सबै प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छिन्।