
प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले आज (आइतबार) देखि कार्यभार सम्हालेका छन्।
प्रेस काउन्सिल नेपालको बैठकसम्बन्धी कार्यविधि, २०७१ को २ (ङ) अनुसार अध्यक्ष डा. आचार्यले काउन्सिल सदस्यहरूको उपस्थितिमा पदभार सम्हालेका हुन्।
पदभार सम्हाल्नुअघि अध्यक्ष डा. आचार्यले शपथग्रहण गरेका थिए।
मुलुक संकटपूर्ण अवस्थामा रहेको बेला आफू काउन्सिलको नेतृत्वमा आएको बताए।
अध्यक्ष डा. आचार्यले मेलमिलापको वातावरण बनाएर सबै पदाधिकारी र कर्मचारीसँग सल्लाहसुझाव लिँदै अगाडि बढ्ने उल्लेख गरे।
उनले पत्रकारिता क्षेत्र आफ्नो लागि नयाँ भएको धारणा राखे।
उनले धरै बोल्नुभन्दा काम गरेर देखाउनुपर्छ भन्ने कुरामा जोड दिए।
अध्यक्ष डा. आचार्यले जेन जी आन्दोलनको प्रमुख माग सुशासन र भ्रष्टाचारमुक्त समाज रहेको अर्थ्याए।
आफूले जेन जी आन्दोलनको प्रमुख मागतर्फ समेत ध्यान दिँदै कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाए।
अध्यक्ष डा. आचार्यलाई स्वागत गर्दै सदस्यहरू कुमारी निमा काफ्ले, शन्तराम बिडारी, नकुल अर्याल, बालकृष्ण अधिकारी, निर्मला शर्माले नीतिगत निर्णय र विवाद समाधानमा काउन्सिलको भूमिका अझै सशक्त हुने विश्वास व्यक्त गरे।
संस्थालाई राजनीतिक, आर्थिक दबाबबाट मुक्त राखी स्वतन्त्र निर्णय गर्ने अवस्था हुने सदस्यहरूको विश्वास थियो।
सदस्यहरूले नेपालको पत्रकारिता संयमित, मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको नयाँ नेतृत्व सक्षम हुने समेत उल्लेख गरे।
मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेको कार्यक्रममा काउन्सिल सदस्यहरू केशवशरण लामिछाने, भीमलाल श्रेष्ठ, रामप्रसाद दाहाल, विजयराज अधिकारी, सदस्य–सचिव छबीन्द्र पराजुली, काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल, सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहरा, उपप्रशासकीय अधिकृतहरु राधेश्याम अधिकारी र रहमतुल्ला मियाँलगायत कर्मचारीहरूको उपस्थिति थियो।
वरिष्ठ अधिवक्ता डा. आचार्यलाई २०८२ मंसीर १५ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयबाट काउन्सिल अध्यक्ष मनोनित गर्ने निर्णय गरेको थियो।
नेपाल बारको उपाध्यक्ष भइसकेका डा. आचार्य यसअघि मेलमिलाप परिषदको संस्थापक सदस्य थिए।
त्यसपछि, उनी ३ बर्षे कार्यकालपछि मेलमिलाप विज्ञको रूपमा कार्यरत थिए।