
सरकारले पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ।
सोमबारको मन्त्रिपरिषद बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं संचारमन्त्री जगदिश खरेलले दिएको जानकारीअनुसार एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार रजकको गत चैत १५ गतेको तीनकुने घटनामा मारिएका थिए।
‘चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको छ,’ मन्त्री खरेलले भने।
तीनकुने प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाटसमेत भएको थियो।
चैत १५ मा नवराज सुवेदी र दुर्गा प्रसाईंको नेतृत्वमा राजावादीहरूको प्रदर्शनको आगलागीमा परेर रजकको ज्यान गएको थियो।
उक्त हिंस्रक झडप र घटनाको रिपोर्टिङका क्रममा पत्रकार रजक तीनकुनेको एउटा घरमा आगजनीमा परेका थिए।
रजकको त्यहीँ जलेर ज्यान गएको थियो।
सरकारले स्व. पत्रकार रजककी पत्नीलाई रोजगारीसमेत दिने निर्णय गरिसकेको छ।