साफ महिला क्लब च्याम्पियनसीपमा एपीएफले भुटानी ट्रान्सपोर्टसँग बराबरी खेल्यो

च्याम्पियनसीपको देस्रो खेल बराबरी खेलेसँगै एपीएफले ४ अंक जोडेको छ

जनसम्मत
मंसिर २६, २०८२, शुक्रबार

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसीपमा भुटानी ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र नेपाल एपीएफ क्लबले बराबरी खेलेको छ।

भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले घरेलु एपीएफलाई गोलरहित बराबरीमा रोकेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीबार सम्पन्न खेलमा बराबरी खेलेसँगै दुबै टोलीले समान १/१ अंक बाँडेका छन्।

बराबरीसँगै २ खेल खेलेको एपीएफले जारी प्रतियोगितामा ४ अंक जोडेको छ।

यस्तै, समान २ खेल नै खेलेको भुटानी ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले २ अंक बटुलेको छ।

यसअघि, एपीएफले आफ्नो पहिलो खेलमा बंगलादेशी नासरिन स्पोर्र्टस क्लबविरुद्ध ४–० को सानदार जीत निकाल्दै महत्वपूर्ण ३ अंक हत्याएको थियो।

त्यस्तै, भुटानी ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले उसको पहिलो खेलमा पाकिस्तानको कँराची सिटी फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै समान १/१ अंक बाँडेको थियो।

एपीएफले आफ्नो दोस्रो खेलमा गोलका केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन।

खेलको ३० औं मिनेटमा एपीएफकी कप्तान अनिता बस्नेतको फ्री–किक क्रसबारमा लागेर फर्किएको थियो।

त्यस्तै, दोस्रो हाफमा मिडफिल्डर सरु लिम्बूले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार ट्रान्सपोर्टकी गोलकिपरले बचाइन्।

अब, एपीएफले मंसीर २८ गते पाकिस्तानको कराँची सिटी एफसीसँग खेल्नेछ।

त्यसैगरी, लिग चरणको अन्तिम खेल पुस २ गते भारतको इष्ट बंगालसँग एपीएफले खेल्ने तालिका छ।