
घरेलु एपीएफ फुटबल क्लब साफ क्लब महिला च्याम्पियनसीपको फाइनल नजिक पुगेको छ।
काठमाडौंमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी च्याम्पियनसीपमा एपीएफ फुटबल क्लब फाइनल नजिक पुगेको हो।
आइतबार सम्पन्न आफ्नो तेस्रो खेलमा पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनल नजिक पुगेको हो।
एक खेल खेल्न बाँकी रहँदा एपीएफ लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
तीन खेल खेलेको एपीएफ ७ अंकसहित शीर्षस्थानमा छ।
एपीएफका लागि एक मात्रै निर्णायक गोल रश्मिकुमारी घिसिङले खेलको ५२ औंं मिनेटमा गरिन्।
मिडफिल्डर रेनुका नगरकोटीको लोफ्टेड पासलाई रश्मिले सदुपयोग गरिन्।
राइट साइडबाट रेनुकाको क्रसलाई पेनाल्टी बक्सभित्र रहेकी रश्मीले हेडरमार्फत बललाई पहिलो बारको जाली चुमाइन्।
च्याम्पियनसीपमा एपीएफको यो दोस्रो जित हो।
यसअघि, एपीएफले आफ्नो पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीमाथि ४–० को जीत निकालेको थियो।
त्यसैगरी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग गोलरहित बराबरी खेलेको थियो।
लगातार २ हार ब्यहोरको कराँची भने च्याम्पियनसीपको होडबाट बाहिरिएको छ।
एपीएफले अब लिग चरणमा बुधबार भारतको इस्ट बंगाल एफसीसँग अन्तिम खेल खेल्नेछ।
पुस ५ गतेसम्म चल्ने च्याम्पियनसीपमा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसीले प्रतिस्पर्धा गरेका छन्।
च्याम्पियनसीपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्।
त्यस्तै, बाँकी ३ टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन्।