एपीएफ र इष्ट बंगाल क्लब साफ महिला क्लब च्याम्पियनसीपको फाइनलमा

उपाधिका लागि फाइनल भिडन्त भने आउँदो शनिबार दशरथ रंगशालामा हुँदैछ

जनसम्मत
पौष २, २०८२, बुधबार

नेपाल एपीएफ र भारतको इष्ट बंगाल क्लब साफ महिला क्लब च्याम्पियनसीपको फाइनलमा भिड्ने भएका छन्।

दुबै टिमले जारी च्याम्पियनसीपको लिग चरणमा अपराजित रहँदै फाइनलमा स्थान बनाएका हुन्।

लिग चरणमा समान ४ खेल खेलेको दुबै टिमले ३ खेल सक्दा नै फाइनल यात्रा गरिसकेका थिए।

भारतको इष्ट बंगालले लिगको ४ खेलमा १० अंक जोडेर लिग विजेता बन्दै फाइनल पुगेको हो।

त्यस्तै, घरेलु एपीएफले पनि लिगको ४ खेलबाट ८ अंक जोड्दै उपविजेता बनेर फाइनल पुग्यो।

इष्ट बंगलाले ४ खेलमा ३ जीत र १ बराबरी खेल्यो।

एपीएफले भने ४ खेलमा २ जीत र २ बराबरीमा टुंग्यायो।

इष्ट बंगालले भने सुरुको तीनवटै खेलमा जीत निकालेको थियो।

एपीएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो।

यस्तै, दोस्रो खेलमा एपीएफ भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो।

एपीएफले तेस्रो खेलमा पाकिस्तानको कराँची सिटी एफसीमाथि १–० गोलको जीत निकालेको थियो।

उपाधिका लागि फाइनल भिडन्त भने आउँदो शनिबार दशरथ रंगशालामा हुँदैछ।

साफका ५ राष्ट्रका लिग लिडर क्लबहरु सम्मिलित च्याम्पियनसीपको लिगमा शीर्ष दुई स्थानमा रहने टोली फाइनल खेल्ने प्रावधान छ।

कठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको लिगको आफ्नो अन्तिम तथा चौथो खेलमा एपीएफ र भारतीय टोली इस्ट बंगालको टोलीले गोलरहित खेल्यो।

लिगको अन्तिम खेलमा ३ विदेशी खेलाडीसहित मैदानमा उत्रिएको इष्ट बंगालले घरेलु एपीएफलाई निकै चुनौती दियो।
तर, जित निकाल्न भने सकेन।

बुधबारको खेलमा एपीएफकी गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्।

स्ट्राइकर रश्मिकुमारी घिसिङले सुनौलो अवसरमा गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसीपमा नेपाल, भारत, भुटान, बंगलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोलीहरुले प्रतिस्पर्धा गरेका थिए।

उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर पुरस्कार जित्नेछन्।

बाँकी ३ टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन्।