इस्ट बंगालले जित्यो साफ महिला क्लब च्याम्पियनसीपको पहिलो उपाधि

विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लब घरेलु मैदानमै ३-० ले स्तब्ध

जनसम्मत
पौष ५, २०८२, शनिबार

भारतको इस्ट बंगाल क्लबले साफ महिला क्लब फुटबल च्याम्पियनसीपको पहिलो संस्करणको उपाधि जितेको छ।

काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबललाई ३–० गोलले हराउँदै इस्ट बंगाालले उपाधि जितेको हो।

इस्ट बंगाल ४ खेलमा ३ जीत १ बराबरीसहित १० अंक जोड्दै शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो।

उता, समान खेलबाट २ जीत २ बराबरीसहित ८ अंक जोड्दै एपीएफ दोश्रो स्थानमा रहँदै फाइनल खेलेको थियो।

इस्ट बंगालको जीतमा कप्तान फाजिला इक्वापुतले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरिन्।

त्यस्तै, सिल्की देवी हेमामले १ गोल गरिन्।

प्रतियोगिताकै सर्वाधिक गोलकर्ता समेत रहेकी फाजिलाले फाइनलमा पनि आफ्नो प्रभाव जमाइन्।

खेलको २१ औं मिनेटमा इस्ट बंगालले अग्रता लियो।

राइट ब्याक सरीता युमनामको पासलाई एपीएफकी लेफ्ट ब्याक मनमायाले हेडरमार्फत क्लियर गर्ने प्रयास गरिन् तर असफल भइन्।

त्यसको फाइदा उठाउँदै फाजिलाले प्रहार गरिन्।

फाजिलाले प्रहार गरेको जुन प्रहार सेन्टरब्याक गीता रानाबाट डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो।

३५ औं मिनेटमा इस्ट बंगालले अग्रता दोब्बर बनायो।

कर्नर किक क्लियर गर्न दौडिएकी मनमायाले पुन: बल नियन्त्रण गर्न सकिनन्।

भारतीय सेन्टरब्याक आशलता देवीले मनमायाबाट बल खोस्दै पेनाल्टी क्षेत्रभित्र क्रस गरिन्।

उक्त क्रसमा सिल्की देवी हेमामले गरेको हेडर गोलकिपर अञ्जना रानामगरको प्रयास असफल बन्यो।

दोस्रो हाफ सुरु भएको १६ सेकेन्ड पनि नबित्दै इस्ट बंगालले तेस्रो गोल थप्यो।

फाजिलाको सामान्य देखिने प्रहार एपीएफकी गोलकीपर अञ्जनालाई डिफ्लेक्ट गर्दै गोल बन्यो।

एपीएफविरुद्ध २ गोलमा प्रत्यक्ष भूमिका खेलेकी सिल्की देवी हेमाम खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।

 

फाजिला इक्वापुत सर्वोत्कृष्ट खेलाडी

विधागत पुरस्कारहरूमा पनि इस्ट बंगालको दबदबा रह्यो।

५ खेलमा कुल ९ गोल गरेकी फाजिला इक्वापुत प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।

उनले ट्रफीसँगै १ हजार अमेरिकी डलर पुरस्कार जितिन्।

त्यस्तै, इस्ट बंगालकै इलाङबम पान्थोइ चानु उत्कृष्ट गोलकिपर बनिन्।

ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले ‘फेयर प्ले टिम’ को उपाधि जित्यो।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसीपमा नेपाल, भारत, भुटान, बंगलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी थिए।

साफ महिला क्लब च्याम्पियनसीपको पहिलो संस्करण गएको मंसिर १९ गतेदेखि काठमाण्डौमा सुरु भएको हो।

उपाधि जितेको इस्ट बंगालले १० हजार र उपविजेता बनेको एपीएफले ५ हजार अमेरिकी डलर पुरस्कार जितेका छन्।

बाँकी ३ टोलीले समान २ हजार अमेरिकी डलर पाएका छन् ।