
अबदेखि, वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी नयाँ मापदण्ड लागु नहुने भएको छ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी नयाँ मापदण्ड खारेज गरेपछि अब वृद्धि गरिएको शुल्क नलाग्ने भएको हो।
गएको कार्तिक ३० गते श्रम मन्त्रालयले श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न भन्दै ३४ प्रकारको स्वास्थ्य परीक्षण गर्नुपर्ने दायरा विस्तार गरेपछि ९ हजार ५ सय रुपैयाँ निर्धारण गरेको थियो।
तर, शुल्क बढेपछि निरन्तर आलोचना र गुनासो आएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि मापदण्ड खारेज भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जारी गरेको विज्ञप्तिमा मन्त्रीस्तरको निर्णयबाट शुल्क वृद्धि खारेज गरिएको उल्लेख छ।
मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाले स्वास्थ्य परीक्षण र परीक्षण शुल्क साविक बमोजिम नै हुने गरी कार्यान्वयन गर्नसमेत भनेको छ।
साविकको शुल्क ६ हजार ५ सय रुपैयाँ थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा संयन्त्रगत रूपमा काम भइरहेका बताएका छन्।