१८ औं संस्करणको ‘हिसान कास्की स्पोर्ट्स् मिट’ को तयारी पूरा

स्पोर्ट्स् मिटमा ४ हजारभन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
पौष २, २०८२, बुधबार

पोखरामा यही पुस ३ गतेदेखि ७ गतेसम्म १८ औं संस्करणको ‘हिसान कास्की स्पोर्ट्स् मिट’ हुँदैछ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले पोखरामा १८ औं संस्करणको हिसान स्पोर्ट्स् मिट हुने भएको हो।

विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत (हिसान) कास्कीले स्पोर्ट्स् मिटको तयारी पूरा भएको जनाएको छ।

स्पोर्ट्स् मिटअन्तर्गत छात्र/छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसलगायतका खेलहरुमा प्रतिस्पर्धा हुने हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिए।

सचिव सापकोटाका अनुसार स्पोर्ट्स् मिटमा ४ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजारभन्दा बढी विद्यार्थी/अभिभावकले अवलोकन गर्नेछन्।

स्पोर्ट्स् मिटअन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका छात्र/छात्रा खेलाडीहरुले विभिन्न ४ खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।

स्पोर्ट्स् मिटमा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमले प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम भिड्नेछन्।

टेवुल टेनिसतर्फ छात्र/छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा ब्याडमिन्टन छात्र/छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको विद्यार्थीले प्रतिस्पर्धा गर्ने हिसान कास्कीले जनाएको छ।

विश्वविद्यालयतर्फका विद्यार्थीहरुले बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्नेछन्।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टुतर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १२ मध्ये ४० शिक्षण संस्थाले स्पोर्ट्स् मिटमा प्रतिस्पर्धा गर्नेछन्।

हिसान स्पोर्ट्स् मिट पोखरा रंगशालामा संचालन हुनेछ भने औपचारिक उद्घाटन ४ गते हुने छ।

यसैबीच, हिसान कास्कीले विगतका हिसान स्पोर्टस मिटमा सहभागिता जनाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम छ।

जसअनुसार, स्पोर्ट्स् मिटको उद्घाटन समारोहमा पावर लिफ्टिङकी विश्व च्याम्पियन शर्मिला शाहलाई नगद २५ हजारसहित सम्मान गरिने हिसान कास्कीले जनाएको छ।

गत वर्ष हिसान कास्कीले नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको थियो।