पोखरामा माघ ९ देखि छैटौँ संस्करणको ‘टाइगर कप’ भलिबल हुँदैं

४ विदेशी टिमसहित महिला/पुरुष दुवैतर्फ ७/७ टिमले प्रतिस्पर्धा गर्ने

जनसम्मत
पौष ८, २०८२, मंगलवार

पोखरामा आउँदो माघ ९ देखि १७ गतेसम्म छैटौँ संस्करणको ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप भलिबल प्रतियोगिता हुने भएको छ।

आयोजक टाइगर ग्रुप अफ पोखराको आयोजनामा यस संस्करणको महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा ७ महिला तथा ७ पुरूष गरी १४ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको जनाए।

महिलातर्फ थाइल्यान्डका २ तथा पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय टोली र भारत गुजरातको १ गरी ४ विदेशी टोलीले प्रतिस्पर्धा गर्नेछ।

महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड, थाइल्यान्ड क्विन्स, विभागीय नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब रुपन्देहीले प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी, पुरुषतर्फ माल्दिभ्स भलिबल एशोसिएसन, भारतको गुजरात भलिबल क्लब, गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ तथा विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

अध्यक्ष शर्माले यस संस्करणको भलिबल प्रतियोगितामा पुरस्कार राशि बढाइएको पनि बताए।

च्याम्पियन हुने महिला तथा पुरुष टोलीले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र मेडल जित्नेछ।

त्यसैगरी, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कारको साथमा रनर–अप ट्रफी र मेडल पुरस्कार जित्नेछ।

तेस्रो हुने टोलीले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शर्माले उल्लेख गरे।

अध्यक्ष शर्माले बताएअनुसार प्रतियोगिताको महिला/पुरुष दुबै टोलीका सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल पुरस्कार हात पार्नेछन्।

त्यस्तै, विधागततर्फका विजेता खेलाडीहरुले ११ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी र मेडल पुरस्कार जित्नेछन्।

यस संस्करणको प्रतियोगिताका लागि ३५ सय रुपैयाँको सिजनल टिकटको व्यवस्था गरेको आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ।