
पोखरेली पत्रकार धनबहादुर गुरुङ (सुमन) लाई छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
तमु (गुरुङ) संचारकर्मी संघ, नेपालद्वारा काठमाडौंमा बुधबार आयोजना गरेको एक समारोहबीच पत्रकार पोखरामा क्रियाशील पत्रकार सुमनलाई सो पुरस्कार प्रदान गरेको हो।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष रेशम गुरुङले उनलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन्।
पुरस्कार राशि नगद २० हजार रुपैयाँ छ।
गुरुङ र अन्य समुदायका गरी हरेक वर्ष २ जनालार्ई प्रदान गरिने सो पुरस्कारबाट काठमाडौंका श्यामकृष्ण श्रेष्ठ पनि सम्मानीत भएका छन्।
२०६८ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा संचार क्षेत्रमा प्रवेश गरेका सुमन हाल समाधान दैनिक, एबिसी टिभी र राससमा आबद्ध छन्।
यसैगरी, ‘तमु पत्रकारिता पुरस्कार’ बाट विभिन्न शीर्षकमा उनीहरुसहित देशभरका ६ जना पत्रकार पुरस्कृत भएका छन्।
नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिवसमेत रहेका उनी फोनिज गण्डकीका उपाध्यक्ष हुन्।
तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट ईच्छा गुरुङ (काठमाडौं) लाई सम्मान गरेको छ।
उनलाई १२ हजार ५०१ रुपैयाँसहित सम्मान गरेको हो।
त्यस्तै, तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट खुसीमाया गुरुङ (लमजुङ), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट सूचना गुरुङ (चितवन), सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रविन गुरुङ (सुनसरी) पुरस्कृत भएका छन्।
उनीहरु, जनही १० हजारसहित सम्मानीत भएका हुन्।