
गण्डकी प्रदेशमा चलचित्रसम्बन्धी पत्रकारिता चलायमान छ।
चलचित्रहरुको विकास, प्रवर्द्धन प्रचार–प्रसारमा यहाँका रंग पत्रकारहरु क्रियाशील छन्।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आफ्नो छैटौँ अधिवेश सम्पन्न गरेको छ।
यसको साथसाथै संघको नयाँ कार्यसमितिसमेत बनेको छ।
संघमा नयाँ कायृसमिति बनेसँगै क्रियाशील रंग पत्रकारहरुले प्रदेशमा चलचित्र विकास बोर्ड गठनको माग गरेका छन्।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले समेत अधिवेशनको उद्घाटन सत्रमा चलचित्र पत्रकारहरुको मागलाई समर्थन जनाए।
सो अवसरमा मन्त्री थापाले गण्डकी प्रदेशस्तरिय चलचित्र बोर्डको आवश्यकता औंल्याए।
मन्त्री थापाले स्पष्ट पारे, ‘पोखरा सहित गण्डकी प्रदेशमा रहेको विशाल सांस्कृतिक विविधता, भौगोलिक सुन्दरता र चलचित्र छायांकनका अमूल्य संभावनालाई व्यवस्थित रूपमा अघि बढाउन प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठन गर्न जरुरी छ।’
‘अघिल्लो कार्यकालमा संचार तथा सूचना मन्त्रालयको नेतृत्व सम्हालेका बेला नै बोर्ड गठनको अभियान अघि बढाइए पनि मूर्त रुप लिन सकेन।प्रदेशमै चलचित्र विकास बोर्ड गठन गरी फिल्म–टुरिजमलाई नयाँ उचाईमा पुर्याउने दायित्व नयाँ नेतृत्वले पहल गर्नुपर्ने छ’, मन्त्री थापाले स्पष्ट पारे।
गण्डकी प्रदेशसँग चलचित्र हेर्ने संस्कृतिदेखि छायांकन कला र प्रविधिसम्मको अपार संभावना रहेको मन्त्री थापाले औंल्याए।
उनले प्रदेशमा निर्माण–प्रदर्शन भएका फिल्महरूले विदेशी बजारसम्म गण्डकीलाई चिनाउन सफल भएको उदाहरण पेश गरे।
उनले भने, ‘फिल्म र पर्यटन दुई वटा छुट्टा–छुट्टै विषय होइनन्, दुवै एक–अर्कालाई परिपूर्ण गर्ने आधार हुन्। बोर्ड गठन भएपछि चलचित्रकरण स्वीकृतिदेखि प्रोत्साहन, लगानी तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनसम्मका काम सहज हुन्छन्।’
चलचित्र पत्रकार संघलाई सिनेमा संवादका कार्यक्रममार्फत समर्थन गर्न आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारीसमेत मन्त्री थापाले दिए।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समिर वलामीले पछिल्लो समय नेपाली फिल्मले ६० करोडसम्मको आम्दानी गर्न सफल भएको उल्लेख गरे।
‘अब पत्रकारिताले चलचित्रको भाव, कलात्मकता र सामाजिक सन्देशलाई गहिराइमा पुगेर व्याख्या गर्ने आवश्यकता छ’, उनले जोड दिए।
गण्डकीका प्रेस रजिस्टार बिमला भण्डारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, पूर्व अध्यक्ष अरुण गिरीलगायतले कार्यक्रममा बोलेका थिए।
चलचित्र पत्रकारिताले फिल्म उद्योगलाई संचारको मात्र सहारा होइन, समालोचनात्मक मार्गदर्शन र अभिलेखको भूमिकासमेत निर्वाह गर्नुपर्ने उनीहरुको भनाई थियो।