
पोखराको लेकसाइड क्षेत्रमा २७ औं संस्करणको सडक महोत्सब सुरु भएको छ।
अंग्रेजी नयाँ बर्ष प्रवेशको अबसरमा लेकसाइड क्षेत्रको सडकमा ‘पोखरा सडक महोत्सब’ आइतबारदेखि सुरु भएको हो।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले हरेक वर्ष संचालन गर्दै आएको ‘सडक महोत्सब’ को यस बर्ष २७ औं संस्करण हो।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित सुरु भएको महोत्सव पुस १७ गतेसम्म अर्थात डिसेम्बर २८ देखि जनवरी १ सम्म चल्नेछ।
लेकसाइडको खहरेदेखि अम्बोट अर्थात फिस्टेल गेटसम्मको करिब साढे ३ किलोमिटर क्षेत्रमा सडकमा नै विभिन्न किसिमका खानाका परिकारहरू र बिभिन्न सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सव चल्नेछ।
महोत्सबमा पुग्ने दर्शकहरुले सडकमा नै खानाका परिकारहरु र विभिन्न सांस्कृतिक कार्यक्रमबाट मनोरंजन लिन पाउनेछन्।
महोत्सबको आगमनसंगै महोत्सवस्थल लेकसाइडको सडक क्षेत्र र सडक किनारका रेस्टुरेन्टहरुमा आकर्षक साजसज्जाले सिंगारिएका छन्।
सडकमाथि ध्वजा–पताका र आकर्षक लाइट जडान गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिएका छन्।
यसका साथै सडक किनारमा बिभिन्न बस्तु वा सेवासहित खाना र सांस्कृतिक कार्यक्रमको लागि स्टल राखिएको छ।
सडक महोत्सबको उद्घाटनपूर्व पोखराको हल्लनचोकदेखि लेकसाइड हुँदै फिस्टेलगेटसम्म बिभिन्न सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो।
र्यालीमा ब्राह्मण, क्षत्री, नेवार, गुरुङ, मगर, थकाली, थारुलगायतका बिभिन्न जातजाति आ–आफ्ना मौलिक सांस्कृतिक झाँकीसहित सहभागी भएको रेवान पोखराका महासचिव बिरेन्द्र शेरचनले जानकारी दिएका छन्।
महोत्सव अवधिभर पोखरा पर्यटन प्रवर्द्धन, अवसर र चुनौतीबारे केन्द्रीत अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिनेछन्।
सडक महोत्सवमा मुख्य आकर्षणका रूपमा लोपोन्मुख जातजातिका सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्टलगायतका कार्यक्रम समावेश छन्।
त्यस्तै, डुंगा दौड, वेटर रेस, डोरी तान्ने, म:म तथा ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथसमेत राखिएका छन्।
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पोखराको केदारेश्वर मन्दिर नजिकको पार्कमा आयोजित बिशेष समारोहबीच सडक महोत्सबको उद्घाटन गरे।
मन्त्री घिसिङले कार्यक्रममा बोल्दै पोखरा पर्यटनको हब भएकाले अन्य सहर र देशसँगको कनेक्टिभिटी बढाउन आवश्यक रहेको बताए।
उनले उल्लेख गरे, ‘पोखरालाई सडक र हवाई दुवै मार्गबाट सहज कनेक्टिभिटी आवश्यक छ।’
पोखराको मुख्य गहना र पर्यटकीय केन्द्र फेवातालको संरक्षण सबैको साझा दायित्व भएको उनले स्पष्ट पारे।
स्थानीय तथा प्रदेश सरकारले फेवाताल संरक्षणमा पहल गरिरहेको जानकारी पाएको बताए।
उनले भने, ‘यसमा संघ सरकारको पनि भूमिका हुनुपर्छ। म त्यसका लागि प्रयास गर्छु।’
मन्त्री घिसिङले एक अर्को प्रसङ्गमा फागुन २१ गते हुने चुनाव सफल बनाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताए।
उनले भने, ‘चुनावले देशलाई स्थायित्वतर्फ लैजान्छ। फागुन २१ मा चुनाव हुन्छ। र, हुनुपर्छ। चुनाव नभए देश अस्थिरतातर्फ जान सक्छ। चुनावपछि बन्ने सरकार र नेतृत्वले देशको भविष्य निर्धारण गर्छ।
उनले सचेत भएर सही नेतृत्व चयन गर्न पोखरेली जनतासामु आग्रह गरे।
गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रदेश सरकारले पर्यटन विकासका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरे।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि पहल गर्न संघीय सरकारसंग आग्रह गरे।
उनले भने, “जियो–पोलिटिक्सका कुरा हामीलाई धेरै थाहा नहुनसक्छ। तर, पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित संचालन गर्ने वातावरण बनाइदिन आग्रह गर्छु।’
उनले पोखराबाट ठूलो संख्यामा हवाई यात्रुहरुले पोखरामा आवत–जावत गरेको बताए।
यससँगै अन्तराष्ट्रिय उडान गर्नसके अझ राम्रो हुने आचार्यले जोड दिए।