
१४ औं संस्करणको पोखरा महोत्सव पुस २९ गतेदेखि हुने भएको छ।
सामाजिक क्षेत्रमा क्रियाशील युनाइटेड क्लबको आयोजनामा हुने यस संस्करणको महोत्सव यही पुसको २९ गतेदेखि माघ ११ गतेसम्म पोखराको अमरसिंह चौरमा चल्ने आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
महोत्सवमा २ सय ५० स्टल रहने क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए।
थापाका अनुसार स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको छ।
महोत्सवमा नेपाली संस्कृति झल्कने प्रस्तुति, बालउद्यान, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झाँकी प्रर्दशनी, विद्यार्थीले निर्माण गरेका विज्ञान प्रदर्शनीलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश हुने प्रचार–प्रसार उपसमितिका संयोजक दिनेश सुनारले बताए।
सुनारका अनुसार महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रर्दशनी, औद्योगिक उत्पादनको प्रर्दशनी एवं विक्री वितरण हुनेछन्।
पोखरालगायत विभिन्न पर्यटीयस्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुति, विद्यालयस्तरिय सामुहिक लोकनृत्य प्रतियोगिताका साथै महोत्सवमा कृषिका गतिविधिहरु संचालन हुनेछन्।
सांगीतिक आकर्षणतर्फ रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङलगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछन।
त्यस्तै, लाइभ कन्सर्टतर्फ पूर्ण राई, डी–मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकीसँगै स्थानीय ब्याण्डहरुको प्रस्तुति रहनेछ।
करीब २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजक युनाइटेड क्लबले जनाएको छ।
त्यस्तै, १ करोड ५१ लाख, ७५ हजार आम्दानी हुने र १ करोड २३ लाख, ६० हजार खर्च हुने आयोजक युनाइटेड क्लबले अनुमान लगाएको छ।