अंग्रेजी नयाँ वर्ष–२०२६ को स्वागत गर्दै सकियो पोखरा सडक महोत्सव

महोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनायो, पर्यटन व्यवसायीहरु उत्साहित

जनसम्मत
पौष १७, २०८२, बिहीवार

अंग्रेजी नयाँ वर्ष–२०२६ को स्वागत गर्दै २७ औं संस्करणको पोखरा सडक महोत्सव सकिएको छ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्ष आगमनपूर्व हरेक वर्ष संचालन गर्दै आएको महोत्सव भव्य सफलताका साथ सकिएको हो।

यो वर्ष, सन् २०२५ बिदा भएको छ, र नयाँ वर्ष २०२६ ले सारा विश्वको आगनीमा आगमन जनाएको छ।

अंग्रेजी नयाँ वर्ष–२०२६ को आगमनसँगै पर्यटकीय राजधानी सहर पोखरामा यस संस्करणको सडक महोत्सव समापन भएको छ।

बुधवार नै मध्यरातमा विशेष सांगीतिक उत्सवसहित अंग्रेजी नयाँ वर्ष सन् २०२६ लाई स्वागत गरियो।

भव्य रुपमा सफल यस संस्करणको सडक महोत्सवमा रंगीचंगी ब्यानर, ध्वजापतका र प्रवेशद्वारले सिँगारिएको पोखराको लेकसाइड क्षेत्रलाई राष्ट्रिय/अन्तराष्ट्रिय रुपमा थप थप परिचय गरायो।

विगतमा जस्तै, यस वर्षपनि सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल जगायो।

पसल र रेष्टुराँबाट निस्कने संगीतका मधुर धुनहरुले आगन्तुक आन्तरिक तथा वाह्य पर्यटकहरूलाई मन्त्रमुग्ध बनायो।

सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको बाक्लो भीड थियो।

मौलिक झाँकी, नृत्यदेखि सांगीतिक ‘कन्सर्ट’ मा पर्यटकहरु झुम्यो।

लगातार ५ दिनसम्म लेकसाइडको साढे ३ किमी सडकमा महोत्सवले खुला आकार लियो।

आइतबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्यो।

महोत्सवको निरन्तर सफलतासँगै यस क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित देखिन्छन्।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको भएपनि यो महोत्सव सबै पर्यटन व्यवसायी र पोखरेलीहरूको उत्सव थियो।

संस्कृति र संगीतको समायोजन गरिएको महोत्सवमा मनोरञ्जनसँगै व्यवसाय प्रवर्द्धनका लागि सडक महोत्सव बनेको थियो।

नयाँ वर्षको स्वागतका लागि बुधवार राति स्थानीय गोमागानेपार्कमा विशेष सांगीतिक उत्सवको आयोजना गरिएको थियो।

जहाँ पोखरेली ब्यान्ड डी–मर्चा, लेकाली, देउराली, एक्स नेपथ्यलगायत ब्याण्डहरु गुञ्जिएका थिए।

महोत्सवमा हस्तकला सामग्री र कृषि उपजलाई बिक्री तथा प्रदर्शनमा राखिएको थियो।

महोत्सवमा पोखराको पहिचान झल्काउने वृत्तचित्र र तस्बिर प्रदर्शनी गरिएको थियो।

सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी महोत्सवमा विविध मनोरञ्जनात्मक गतिविधि र खेलकुदको समेत आयोजना गरिएको थियो।

सिन्धुलीको पञ्चेबाजा, थारू नाचसहित गुरुङ, मगरहरूको सांस्कृतिक नाच र गीतले महोत्सवमा मौलिकता थपेको थियो।

सोमबार ‘जिम्मेवार पर्यटन’ विषयमा विज्ञहरूसहितको सडक बहस आयोजना गरिएको थियो।

वेटर्स दौड, डुंगा दौड जस्ता प्रतियोगिताले महोत्सवमा दर्शक आकर्षित गर्‍यो।

बुधवार, ल्होसार विशेष कार्यक्रमसहित साँझ ‘स्वप्न सुमन र केहर एन्ड द लुंगा’ ब्यान्डको प्रस्तुति रह्यो।

विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रूपमा स्थापित भएको यहाँका पर्यन व्यवसायीहरु बताउँछन्।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडका होटल तथा रेष्टुराँ पाहुनाले भरिभराउ थियो।

महोत्सव सुरु हुनुभन्दा केही दिनयता होटलको अकुपेन्सी ७५ प्रतिशतसम्म पुग्यो।

नयाँ वर्षका लागि अधिकांश होटल बुकिङ भइसकेको थियो।

आन्तरिकसँगै विदेशी पर्यटकको पनि चहलपहल बढेको थियो।

विदेशीमा पनि धेरै भारतीय पर्यटकको आगमन थियो।

सडक महोत्सवलाई लक्षित गरेर पोखरामा रात्रिकालीन बस सेवासमेत संचालनमा थियो।

लेकसाइडका डिस्को, बार, क्लब जस्ता मनोरञ्जनस्थल २४ घण्टा नै खुला गरिएको थियो।

समग्रमा सडक महोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनायो।

हाल एकै रातमा झण्डै ४० हजार पर्यटकलाई राख्न सक्ने पोखराका होटलहरुको क्षमता छ।