
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा सामाजिक सञ्जालमाथि निगरानी गरिदैँ छ।
निर्वाचन आयोगले सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको हो।
आयोगले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने गलत, भ्रामक र नकारात्मक क्रियाकलापको निगरानी गर्ने जनाएको हो।
सामाजिक सञ्जालमार्फत प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणाष्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक (गहिरो भ्रम) झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानीलगायतका विषयमाथि अनुगमन गरी गैरकानुनी कार्यलाई कानुनबमोजिम दण्डित गरिने प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।
यसका लागि नियामक निकायसँग सहकार्य गर्ने नीति लिइएको उनले जानकारी दिएका छन्।
यसै हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको आयोगले जनाएको छ।
यसका लागि मेटा, टिकटक र एक्स (ट्वीटर) लाई पत्राचार गरिएको जनाएको छ।
आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत रहेर काम गर्नेगरी सूचना सदाचार प्रवर्द्धन एकाईले कार्य प्रारम्भ गरेको आयोगले जनाएको छ।
सामाजिक सञ्जाल अनुगमन सफ्टवेयरलाई प्रयोगमा ल्याइएको प्रवक्ता भट्टराईले उल्लेख गरे।