
स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा डिल्लीराम काफ्ले चयन भएका छन्।
संघको शुक्रबार पोखरामा सम्पन्न सातौँ अधिवेशनले काफ्लेको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा शिशिर उजाड, सचिवमा मदनराज जैसी, सह–सचिवमा रामकृष्ण अधिकारी तथा कोषाध्यक्षमा गणेशबज्र लामा छन्।
त्यस्तै सदस्यहरूमा भोजराज उपाध्याय, दुर्गादेवी बास्तोला, मानबहादुर थापा र रामचन्द्र लामिछाने छन्।
दुर्गा बहादुर शाह (बाबा) को संयोजकत्वमा सदस्यहरु शिवप्रसाद गौतम र अभिमन्युविक्रम राणा सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो।
मानव अधिकार संरक्षण मञ्च नेपालका पूर्व अध्यक्ष नवदत्त उपाध्याय ढुंगानाले अधिवेशनको उद्घाटन सत्रमा बोल्दै हरेक क्षेत्रमा दलीय राजनीति हावी हुँदै जाँदा राज्यका निकायहरू कमजोर बन्दै गएको टिप्पणी गरे।
उनले औंल्याए, ‘वर्तमान विषम परिस्थितिमा स्वतन्त्र पत्रकारहरूको निष्पक्ष र निर्भिक खबरदारी झनै आवश्यक छ।’
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशमा व्यवस्था परिवर्तन भएपनि नागरिकको जीवनस्तरमा अपेक्षित परिवर्तन हुन नसकेको स्पष्ट पारे।
उनले जोड दिए, ‘लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र पत्रकारिताको भूमिकालाई अझ बलियो बनाउनु पर्छ।’
संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दलीय पत्रकारिताका कारण देशले विभिन्न कालखण्डमा गंभीर समस्याहरू भोग्दै आएको उल्लेख गरे।
उनले भने, ‘स्वतन्त्र पत्रकारितामार्फत सत्य र तथ्य उजागर गर्नुपर्छ।’
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्मा, अग्रज पत्रकार नारायण कार्कीलगायत वक्ताहरूले विचारभन्दा माथि देश रहने भएकाले स्वतन्त्र पत्रकारिताको महत्व अझ बढेको धारणा राखे।
कार्यक्रममा लेखक शिवप्रसाद गौतमले संघलाई आर्थिक सहयोग प्रदान गरे।
सभामा अध्यक्ष रानाभाटले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रीय पार्षद सागर कार्कीले स्वागत मन्तव्य दिएका थिए।
निवर्तमान उपाध्यक्ष डिल्लीराम काफ्लेले धन्यवाद ज्ञापन गरेको कार्यक्रम सहसचिव शिशिर उजाडले संचालन गरेका थिए।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक दुर्गा शाह (बाबा), सदस्य शिवप्रसाद गौतम, संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, संघ कास्कीका पूर्व अध्यक्ष कृष्ण थापालगायतले बधाई तथा शुभकामना व्यक्त गर्दै स्वतन्त्र पत्रकारिताको पक्षमा सशक्त आवाज उठाउन सुझाव दिए।
नवनिर्वाचित अध्यक्ष डिल्लीराम काफ्लेले स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारितालाई संस्थागत गर्दै संघलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।