
प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष डा कुमार शर्मा आचार्य र पूर्व अध्यक्षहरूबीच समसामयिक विषयमा छलफल गरिएको छ।
काउन्सिलले पूर्वअध्यक्षहरूसँग समसामयिक विषयमा छलफल गरी सुझाव संकलन गर्ने उद्देश्यले छलफलद चलाएको हो।
सो अवसरमा नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पूर्वअध्यक्षहरूका अनुभव र सुझावअनुसार संस्थालाई अघि बढाउन चाहेको उल्लेख गरे।
आफू संस्थाका लागि नयाँ भएको र विगतमा भए/गरेका काम र थाँती रहेका कामबारे अग्रजहरूसँग जानकारी लिनका लागि छलफल आयोजना गरिएको उनको भनाइ थियो।
छलफलमा आफ्ना अनुभव राख्दै पूर्व कार्यवाहक अध्यक्ष सोमनाथ घिमिरेले तत्कालीन समयमा सल्लाहकार समितिसमेत गठन गरी समितिको सुझावअनुसार काम गर्ने गरिएको उल्लेख गरे।
घिमिरेले तत्कालीन समय र अहिलेको पत्रकारितामा धेरै भिन्नता रहेको औंल्याए।
उनले अहिले पत्रकारिताको विश्वसनीयता मर्दै गएको उल्लेख गरे।
यस्तै, पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलअन्तर्गत रहेको वितरण संपरीक्षण समितिबाट हुने पत्रपत्रिका वर्गीकरणको मूल्यांकनको आधार मापदण्ड समाचारको विषयवस्तुका आधारमा गराउन सुझाव दिए।
काउन्सिलका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्रको कार्य गर्न पनि ऐन तत्काल संशोधन हुनु आवश्यक रहेको औँल्याए।
ऐन संशोधन नहुँदासम्म कार्यविधि र निर्देशिका बनाएर काम गर्न सुझाव दिए।
काउन्सिलमा राजनीतिक परिस्थितिले कहिलेकाहीँ प्रहारसमेत हुने उनको टिप्पणी थियो।
बस्नेतले काउन्सिल स्वायत्त संस्था भएकाले आफ्नै ऐन कानुन, निर्देशिका र मापदण्डअनुसार चल्ने कुरा सबैलाई बुझाउन आवश्यक रहेको उल्लेख गरे।
मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेको कार्यक्रम सदस्य पदमराज जोशीले धन्यवादसहित समापन गरेका थिए।