
प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबीएन) बीच आज (बुधबार) पत्रकार आचारसंहिता, समाचार सम्प्रेषण तथा पत्रकारिताको अभ्यासमा देखिएका चुनौतीलगायतका विषयमा छलफल र अन्तरक्रिया भएको छ।
पीएसबीएनको निमन्त्रणामा काउन्सिल अध्यक्ष डा. कुमार शर्मा आचार्यको नेतृत्वमा गएको टोली र पप्एसबीएनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टसहितको टोलीबीच उक्त छलफल र अन्तरक्रिया भएको हो।
छलफल/अन्तरक्रियाका क्रममा काउन्सिल अध्यक्ष डा. आचार्यले आफू काउन्सिलमा नयाँ सोच र कार्यशैली लिएर आएको बताए।
डा. आचायर्य प्रतिबद्धता जाहेर गरे, ‘काउन्सिललाई यही रुपमा अघि बढाउने नयाँ सोंचमा छु। म काउन्सिलमा अधिकार प्रयोग गर्न आएको होइन, कर्तव्य पालना गर्न आएको हुँ। त्यही गर्छु। नयाँ परिस्थितिमा प्रत्येक पत्रकार र संचार माध्यमले आफ्नो मनस्थिति बदल्नुपर्छ। दृष्टिकोण नबदली दृश्य बदलिँदैन।’
उनले आफूले पत्रकार/संचारमाध्यमलाई दण्डनात्मक नभई सुधारात्मक दृष्टिकोण अपनाएर अघि बढाउने धारणा राखे।
पीएसबीएनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पीएसबीएन पत्रकार आचारसंहिता पालनामा प्रतिबद्ध रहेको उल्लेख गरे।
‘काउन्सिललाई अझै स्वतन्त्र, स्वायत्त बनाउनमै जोड दिनुपर्छ’, डा.विष्टले भने।
काउन्सिलका सदस्य बालकृष्ण अधिकारीले काउन्सिलले पत्र मात्रै काट्ने नभई पत्रकारलाई कर्तव्यबोध गराउन संचार माध्यममा स्थलगत अनुगमन गर्न थालेको जानकारी दिए।
काउन्सिल अध्यक्ष डा. आचार्यलाई विशेष स्वागत गरिएको उक्त कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, पीएसबीएनका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, एनटिभीका समाचार प्रमुख पुष्पहरि क्याम्पा राई र रेडियोका समाचार प्रमुख पवन प्याकुरेल, नेपाल पत्रकार महासंघ रेडियो शाखाका अध्यक्ष भूषण पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए।
नेपाल पत्रकार महासंघ एनटिभी. शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले सहजीकरण गरेको उक्त कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालसहित पीएसबीएनका वरिष्ठ अधिकृतहरूको सहभागिता थियो।