प्रेस काउन्सिल र सूचना आयोगबीच २ बुँदे सहमति

पत्रकार आचारसंहिता र सूचनाको हक सम्बन्धमा संयुक्त रूपमा अभिमुखीकरण गर्न काउन्सिल र आयोगबीच सहमति

जनसम्मत
पौष १८, २०८२, शुक्रबार

राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपालबीच आज (बुधबार) पत्रकार आचारसंहिता र सूचनाको हक सम्बन्धमा संयुक्त रूपमा अभिमुखीकरण गर्न सहमति भएको छ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यको नेतृत्वमा गएको टोलीबीच राष्ट्रिय सूचना आयोगमा भएको छलफलका क्रममा यसरी अघि बढ्न २ बुँदे सहमति भएको हो।

‘राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपालबीच पत्रकार तथा संचारकर्मीलाई सचेतना अभिवृद्धि गर्न एक–अर्काका कार्यक्रमहरूमा सहकार्य गरी दुवै निकायका विषयवस्तु प्रस्तुत गर्ने सम्बन्धमा समन्वय गरी प्रबर्द्धनात्मक कार्य संचालन गर्ने तथा सूचनाको हक प्रबर्द्धन र पत्रकार तथा संचारकर्मी आचारसंहिता कार्यान्वयन गर्ने सम्बन्धमा दीर्घकालीन रूपमा सहकार्य गरी समझदारी गर्न आवश्यक मस्यौदा तयार गरी दुवै निकायबीच आदान–प्रदान गर्ने’ सहमतिपत्रमा उल्लेख छ।

उक्त छलफलमा सहमतिका क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, प्रमुख सूचना आयुुक्त डा. सुरेश आचार्य, आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारी पौडेल, काउन्सिलका सदस्य बालकृष्ण अधिकारी, आयोगका सचिव दीर्घराज मैनाली, सूचना तथा प्रसारण विभागका महानिर्देशक छबीन्द्र पराजुली, प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल, आयोगका उपसचिवहरू सन्तोषकुमार दाहाल, देवेन्द्र कार्की र प्रेमचन्द अर्यालको सहभागिता थियो।

तस्बीर: सुजन महर्जन/(प्रेस काउन्सिल)