‘एक्स’ लाई भारत सरकारको ‘नोटिस’

एआईको मद्दतमा अश्लील भिडिओमार्फत ‘अश्लील र आपत्तिजनक’ सामग्री सिर्जना र प्रकाशन गरेकोे आरोप

जनसम्मत
पौष १९, २०८२, शनिबार

भारत सरकारले सामाजिक सञ्जाल प्लाटफर्म एक्सविरुद्ध ‘अश्लील र आपत्तिजनक’ सामग्री सिर्जना र प्रकाशन गरेको भन्दै ‘नोटिस’ जारी गरेको छ।

भारतको सूचना प्रविधि मन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ, ‘समय समयमा रिपोर्ट गरिएको छ कि तपाईंको प्लाटफर्ममा प्रसारित केही प्रकारका सामग्री शालीनता र अश्लीलतासँग सम्बन्धित नियमविपरीत छन्।’

पत्रमा अगाडि भनिएको छ, ‘विशेषगरी प्रयोगकर्ताहरूले एक्स प्लाटफर्ममा एकीकृत ग्रोक एआई नामक सेवाको दुरुपयोग गरिरहेको देखिएको छ।

प्रयोगकर्ताहरूले महिलाको बदनाम गर्न अश्लील तस्बीर वा भिडिओ बनाउन, प्रकाशित गर्न र साझेदारी गर्न फेक अकाउन्ट सिर्जना गरिरहेका छन्।’

‘यसले प्लाटफर्म–स्तरीय सुरक्षा उपाय र प्रवर्तन अभ्यासमा गंभीर असफलता संकेत गर्दछ। यो कानुनको उल्लंघनमा कृत्रिम बुद्धिमत्ताको दुरुपयोग हो।’

मन्त्रालयले यस सम्बन्धमा तत्काल कारबाही गर्न र सरकारलाई यो मामिला रिपोर्ट गर्न एक्स इन्डियालाई निर्देशन दिएको छ।

यसअघि, शिव सेना (यूटीबी) राज्यसभा सांसद प्रियंका चतुर्वेदीले यस सम्बन्धमा कारबाहीको माग गर्दै सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवलाई पत्र लेखेकी थिइन्।