१० औं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आगामी वैशाखको १८ गते  

एनएसजेफ, गण्डकी अवार्डको तयारीमा जुट्दै

जनसम्मत
पौष २८, २०८२, सोमबार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औँ पोखरा स्पोर्र्ट्स अवार्ड–२०८२ को मिति घोषणा गरिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो।

अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई अवार्डद्वारा सम्मान गरिनेछ।

समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजक एनएसजेएफ, गण्डकीले जनाएको छ।

अवार्डका विधाहरुमा लाइफटाइम एचिभमेण्ट अवार्ड, वर्ष उत्कृष्ट पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उत्कृष्ट उदीयमान, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद क्लब/संस्था तथा वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्डहरु वितरण गरिनेछन्।

नवौं संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा १० औं संस्करणको स्पोर्ट्स अवार्ड सरोकारवाला सबैको साथ, सहयोग र सल्ल्लाहमा भब्य बनाउने गरी लागिपर्ने अध्यक्ष आस्थामगरले जनाए।

अधयक्ष आस्थामगरका अनुसार अवार्डका लागि एनएसजेएफ, गण्डकी शिघ्र तयारीमा जुट्नेछ।

प्रदेश खेलकुद गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको अवार्डलाई विशेष सहयोग रहनेछ।

अवार्डले गण्डकी प्रदेशको खेलकुद प्रवर्द्धन तथा खेल पत्रकारिताको सम्मानमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।