डिजिटल माध्यम र सामाजिक सञ्जालको सहि प्रयोग गरौं

सरोकारवालाहरु जोड दिन्छन्, ‘डिजिटल माध्यम र सामाजिक सञ्जालबाट फैलिने मिथ्या तथा भ्रमपूर्ण सूचना नियन्त्रण गर्न सबै पक्ष सचेत हुनुपर्छ’

जनसम्मत
पौष ३०, २०८२, बुधबार

समयसापेक्ष डिजिटल माध्यम र सामाजिक सञ्जालको सहि प्रयोग गर्न एक कार्यक्रमका सहभागीहरुले सुझाएका छन्।

प्रेस रजिष्ट्रारको कार्यालयद्वारा बुधबार पोखरामा आयोजित ‘भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचनासम्बन्धी सरोकारवालाबीच सचेतना तथा अन्तरक्रिया’ कार्यक्रममा सरोकारवालाहरुले भने, ‘समय सापेक्ष आएका डिजिटल माध्यम र सामाजिक सञ्जालको सहि प्रयोग र त्यसलाई नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार हुनैपर्छ।’

पछिल्लो समय डिजिटल माध्यम र सामाजिक सञ्जालको तीव्र प्रयोगसँगै समाजमा मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रचार–प्रसार बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरोकारवाला सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा उनीहरुले जोड दिए।

कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारीहरूले डिजिटल प्रविधि र सामाजिक सञ्जालका कारण नकरात्मक सन्देशको प्रचारबाजी बढेको उल्लेख गरे।

यसले समाजमा भ्रमपूर्ण वातावरण सिर्जना गरिरहेको सरोकारवालाहरुको दाबी थियो।

तथ्य पुष्टि नगरी सामाजिक सञ्जालमा आएको सूचनाको आधारमा छिटो समाचार संप्रेषण गर्ने प्रवृत्तिका कारण मूलधारका मिडियाबाट समेत कहिलेकाहीँ मिथ्या सूचना प्रवाह हुने गरेकोप्रति ध्यानाकर्षण समेत गराइयो।

वक्ताहरूले कुनैपनि घटनाबारे समाचार संप्रेषण गर्दा सतही सूचनामा भर नपरी वास्तविक तथ्य, भू–धरातलीय अवस्था र विवादित पक्षलाई बुझेर सन्तुलित ढंगले समाचार प्रकाशन तथा प्रशारण गर्न आग्रहसमेत गरे।

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार पत्रकारिताबाट मात्रै समाजमा फैलिँदै गएको भ्रम र मिथ्या सूचना नियन्त्रण गर्न सकिने उल्लेख गरिन्।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले डिजिटल युगमा सूचना व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको उल्लेख औंल्याए।

मन्त्री थापाले प्रतिबद्धता जनाए, ‘समाजमा सकारात्मक सोच र सही सूचना प्रवाहका लागि मिडिया, सरकार र नागरिक सबैले आ-आफ्नो भूमिकामा जिम्मेवारी वहन गर्नुपर्छ। मिथ्या र भ्रमपूर्ण सूचनाविरुद्ध सचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई प्रदेश सरकारले समेत प्राथमिकताका साथ समर्थन गर्नेछ।’

गण्डकी प्रदेश सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै आएको मन्त्री थापाले उल्लेख गरे।

न्यु मिडिया र युट्युब पत्रकारितामा संलग्न युवाहरूलाई मन्त्री थापाले विशेष सम्बोधनसमेत गरे।

उनले क्यामेरा र मोबाइल ठूलो शक्ति भएकाले त्यसको उचित ढंगले प्रयोग गर्न आग्रह गरे।

गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, सचिव कृष्ण लम्साल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुदादेवी शर्मा, न्यूनतम पारिश्रमिक समितिका सदस्य बासु मिश्र, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल, गैरसरकारी संस्था महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेललगायतका वक्ताहरूले यस्ता सचेतनामूलक कार्यक्रम तल्लो तहदेखि राजनीतिक दलका नेतृत्व तहसम्म बढी आवश्यक रहेको औंल्याए।

कार्यक्रममा अनुजा काण्ड, ऋतिक रोशन काण्ड, एमालेको अधिवेशनमा सहभागी भएको भनिएको एआईबाट तयार गरिएको फोटो जस्ता उदाहरण उल्लेख गरिएको थियो।

सामाजिक सञ्जालमा फैलिएका गलत सूचनाका कारण मिडियासमेत चुक्ने अवस्था आएको चर्चा गरिएको थियो।

यसबाट पाठ सिक्दै आगामी दिनमा तथ्यपरक र जिम्मेवार पत्रकारितामा जोड दिनुपर्नेमा वक्ताहरूको समान धारणा थियो।

कार्यक्रममा स्रोतविज्ञका रूपमा सेन्टर फर मिडिया रिसर्च नेपालका प्रमुख उज्वल आचार्यले नेपालमा भ्रमपूर्ण र मिथ्यापूर्ण सूचनाको परिचय, अवस्था र बहुआयामिक प्रभावका विषयमा प्रस्तुतिकरण गरे।

डिजिटल साक्षरताको अभावले समस्या जटिल बन्दै गएको उनको प्रस्तुति थियो।

बागमती प्रदेशका संचार रजिस्ट्रार रेवती सापकोटाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना प्रवाह र मिडियाको भूमिका विषयमा प्रस्तुति दिए।

मिडियाले स्व–नियमन र तथ्य परीक्षणमा विशेष ध्यान दिनुपर्ने सापकोटाले उल्लेख गरे।

गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले मिथ्या सूचना नियन्त्रणका लागि राज्य, मिडिया, नागरिक समाज र आम नागरिकबीच समन्वय र सहकार्य अपरिहार्य रहेको औंल्याए।