
एनसेल छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको छ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले बिहिबार पत्रकार भेटघाट कार्यक्रम गरी तयारी पुरा भएको जनाएको हो।
माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा संचालन हुने प्रतियोगिताको पहिलो दिन ३ खेल हुनेछन्।
प्रतियोगिता मूल आयोजक समितिका संयोजक एवं टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले तयारी पूरा भएको जनाए।
शर्माले प्रतियोगितालाई सफल बनाउन सबै पक्षसँग आग्रहसमेत गरेका छन्।
नेपाल भलिबल संघको स्वीकृति र समन्वयमा हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिमले प्रतिस्पर्धा गर्नेछन्।
यस संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहनेछ।
महिलातर्फ थाइल्याण्ड क्वीन्स (थाइल्याण्ड) तथा पुरुषतर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब सहभागी छन्।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ मैदान उत्रनेछन्।
प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन्।
प्रथम हुने टोलीले उपाधिसहित ६ लाख ६६ हजार ६६६, दोस्रोले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले २ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार हात पार्नेछन्।
सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ।
विधागत उत्कृष्ट खेलाडीहरूले समान ११ हजार ६६६ बराबरको पुरस्कार पाउनेछन्।
दर्शकहरूका लागि ३ हजार ५ सय मूल्य बराबरको अनलाइन सिजनल टिकट खल्ती एपमार्फत उपलब्ध रहेको आयोजकले जनाएको छ।
प्रत्येक खेलमा ‘टाइगर केल्मी अफ द म्याच’ घोषित खेलाडीलाई केल्मी नेपालका तर्फबाट सोभिनियर प्रदान गरिनेछ।
दैनिक टिकट काटी प्रवेश गर्ने दर्शकमध्ये एक जना भाग्यमानीलाई एक्सटेप नेपालको तर्फबाट टी–सर्ट प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता संचालनका लागि करिब १ करोड ८० लाख खर्च अनुमान गरिएको छ।
प्रतियोगिताबाट बचत हुने रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ।
प्रतियोगितालाई थप आकर्षक बनाउन एलईडी लाइट, एलइडी स्क्रिन डिजिटल बोर्ड, ठूलो क्षमताको प्याराफिट तथा राष्ट्रिय कलाकारहरूको
प्रस्तुति रहने आयोजक समितिका सचिब डिबी नेपालीले जनाएका छन्।
त्यस्तै, उनले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको जनाए।
प्रतियोगिताका टेक्निकल डाइरेक्टर टहल सिंह थापाले प्रतियोगितालाई निष्पक्ष रुपमा संचालन गर्न कुनै कसर बाँकी नरहने प्रतिवद्धता जनाएका छन्।